बिर्तामोड, असार १४ । शहरी विकास तथा भवन कार्यालय इलामले झापा नाटक घरको निर्माण कार्यबाट उच्च प्रशंसा पाएको छ ।

भ्रष्टाचार , ढिलासुस्ती र अनियमितताले मुलुक आक्रान्त भएको अबस्थामा राष्ट्रसेवक कर्मचारी र निर्माण ब्यवसायीले गरेको कामको नागरिक समाजबाट बिरलै सम्मान र प्रशंसा हुने गरेको छ । यो अबस्थामा क्षितिज नाट्य प्रतिष्ठान झापाले भने शहरी विकास तथा भवन कार्यालय इलाम र निर्माण कम्पनीको एक कार्यक्रमका बीच खुलेरै प्रशंसा गरेको हो ।

‘हामीले कर्मचारी र निर्माण कम्पनीलाई भ्रष्टाचार, ढिलासुस्ती र अनियमितताको पर्याय हो भनेर बुझेका थियांै तर, कतिपय कुरा देखेर , सुनेर अनि पढेर मात्रै नबुझिदो रहेछ । परेपछि थाहा भयो । हामीले सुनेको र बुझेकोभन्दा फरक पायौं । दुबै पक्षबाट हामीले सोचेभन्दा राम्रो काम भयो । भ्रष्टाचार हैन, निर्माण कम्पनी र कार्यालयको तर्फबाट उल्टै नाट्य प्रतिष्ठानको नाममा सहयोग प्राप्त भएको छ । निस्वार्थ भावनाबाट समाज र झापाली प्रतिभाहरुको हितमा भएको यो प्रशंसनीय कार्यको हामी स्वागत सम्मान गर्दछौं ’ नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घरका परिकल्पनाकार माधब कल्पितको भनाइ रहेको छ ।

बिर्तामोड नगरपालिका वडा न.१ मा निर्माणाधीन अबस्थामा रहेको कोशी प्रदेशकै पहिलो ऐतिहासिक धरोहरको रुपमा परिचित बहुजातीय साँस्कृतिक संग्रहालयसहितको झापा नाटक घर निर्माणका लागि आर्थिक बर्ष २०७९÷०८०मा प्रदेश सरकारद्वारा झापा नाटक घर अधुरो शिर्षकमा तीस लाख रकम विनियोजन भएको थियो । सो कार्यालयले टेण्डर आह्वान गरी कार्यालयको प्रत्यक्ष निगरानी र सक्रियतामा प्राविधिक मापदण्ड अनुरुपको कार्य सम्पन्न गराउँदै आम नागरिक तथा उपभोक्ताहरुको मन जित्न सफल भएको हो । इलामका निर्माण ब्यवसायी लीला दाहालको कम्पनी आनन्द विल्डर्सले पारेको टेण्डरबाट नाटक घरको फलसिलिङ, टालि मार्बल,भित्र रंगरोकन,स्टेज निर्माण, दर्शक प्रेक्षालय,कलाकार आवास गृह, भोजनालय,पुस्तकालय, अतिथि आवास गृह लाइटबार लगायतका कामहरु तोकेको समयभित्र सम्पन्न गरि प्रतिष्ठानलाई असार १२ गते स्वामित्व हस्तान्तरण गरेको समूहकी केन्द्रीय कोषाध्यक्ष मुना प्रसाईले जानकारी दिइन् ।
‘कतिपय निर्माण कम्पनी र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार हुने ,समयमा काम नसकिने र अनियमितता भई उपभोक्ता तथा आम नागरिकहरुले सास्ती खेप्नु परेको गुनासाहरु सुनिरहेको अबस्थामा झापा नाटक घर निर्माण कार्यलाई उच्च प्राथमिकतामा राखी आर्थिक सहयोग पुर्याउने तत्कालीन प्रदेश सरकारमा अर्थमन्त्री इन्द्रकुमार आङ्बो , पटकपटक फिल्ड अनुगमन गरि चाहना बमोजिमको गुणस्तरीय कार्य सम्पन्न गराउन बिशेष योगदान पुर्याउने शहरी बिकास तथा भवन कार्यालय इलामका प्रमुख रजनिस झा, सूचना अधिकारी अनिल यादव , फिल्ड प्राबिधिक प्रज्वल शाहलगायत सम्पूर्ण कार्यालय परिवारप्रति ह्रदयदेखि नै उच्च सम्मानका साथ हार्दिक आभार प्रकट गर्दछौ’ प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाको भनाइ रहेको छ । आफूहरुले निकट भबिष्यमा एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट कार्य गर्ने निर्माण कम्पनी र गराउने शहरी विकास तथा भवन कार्यालय इलामलाई स्वागत सम्मान गर्ने तयारी रहेको प्रतिष्ठानका कार्यकारी अधिकृत राजकुमार भट्टराईले बताए ।

करिव ४ बर्ष अघिबाट सडकमा एउटा इटा सहयोग मागेर निर्माण प्रारम्भ गरेको नाट्य प्रतिष्ठानले स्थानीय सरकार ,प्रदेश सरकार तथा आम दाता महानुभावहरुको साथ,सहयोग र लगानीबाट करिब १करोड ९० लाख मूल्य बराबरको कार्य सम्पन्न गरिसकेको छ । नाटक घरको सम्पूर्ण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याउन बिर्तामोड नगरपालिकाले तयार गरेको प्रारम्भिक डिपिआरबमोजिम अझै ६०लाख रुपैयाँ आबश्यक रहेको बरिष्ठ उपाध्यक्ष हरि भण्डारीले जानकारी दिए । अब ६०लाख रुपैयाँ बराबरको काम सम्पन्न हुन सके कोशी प्रदेशकै पहिलो सुबिधासम्पन्न नाटक घर निर्माण हुने र नियमित नाटक मञ्चन गर्न सकिने उनको भनाइ रहेको छ । थेटर लाइट , एसि, कुर्सी ,जेनेरेटर ,साउण्ड सिष्टम तथा बाहिरी रंगरोकन र कम्पाउण्ड वाललगायतका कार्य सम्पन्न हुन बाँकी रहेको र उक्त कार्य सम्पन्न गर्न आर्थिक बर्ष ०८०÷८१मा शहरी विकास तथा भवन कार्यालय ,वडा कार्यालय र नगरपालिका तथा प्रदेश सरकारसमक्ष आफूहरुले प्रस्तावना पेश गरेको र सबैबाट उचित सम्बोधन भए निकट भबिष्यमा नै नाटक घर सञ्चालनमा आउन सक्ने कुरामा आफू बिश्वस्त रहेको अभियन्ता कल्पित बताउँछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्