झापा, असार १४ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा राखेको विश्वासको प्रस्तावमाथिको छलफल सकिएको छ ।

उक्त छलफल सकिएसँगै आधा घण्टाका लागि स्थगित भएको प्रदेशसभाको बैठक अझै सुरु भएको छैन ।
मुख्यमन्त्रीको प्रस्तावमाथि छलफलमा सहभागी नेताहरुले जवाफ दिनुपर्ने भन्दै मुख्यमन्त्री कार्कीसहित मन्त्रीहरु प्रदेशसभाबाट बाहिरिएका छन् । मुख्यमन्त्रीले आधा घण्टाको समय मागेको कारण आफूले समय दिएको सभामुख बाबुराम गौतमले बताए । ‘उहाँले समय माग गरेकै कारण आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उहाँ आउनुहुन्छ भन्ने आशामै छौं । समय गुज्रिन लाग्यो,’ सभामुख गौतमले भने ।

मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि एमालेका प्रदेशसभा सदस्यहरुमा पनि अन्योल देखिएको छ । एमाले संसदीय दलका उपनेता रामबहादुर मगरले मुख्यमन्त्री निस्कनुको कारण थाहा नभएको बताए । जवाफ तयार गर्न उहाँ निस्कनुभएको हुनुपर्ने उनको भनाई छ ।
आजको बैठकमा बोल्दै काँग्रेस, माओवादी र नेकपा एसले सरकारले राखेको विश्वासको मतको प्रस्तावमा समर्थन गर्न नसकिने बताएका छन् । एमाले र राप्रपाले भने प्रस्तावको पक्षमा बोलेका थिए । १ सांसदमात्रै रहेको जनता समाजवादी पार्टी भने तटस्थ बसेको छ । प्रदेशसभाको आजकै बैठकबाट विश्वासको मतको पक्ष र विपक्षमा मतदान गराउने सभामुखको तयारी छ ।

स्रोतले दिएको जानकारी अनुसार मुख्यमन्त्रीले भोलीको समय माग गरेका थिए । सभामुखले नमानेपछि मुख्यमन्त्रीले राजीनामा दिने कि भन्ने विषयमा पनि छलफल सुरु गरेको बताइएको छ । एमालेका सांसद एकराज कार्कीले भने मत विभाजन हुने दाबी गरे ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्