झापा, असार १५ । चालु आर्थिक वर्षको ११ महिनामा करिब १२ लाख नेपाली विदेश गएका छन् ।

रोजगारी र अध्ययनका लागि मात्रै ८ लाख ५० हजार नेपाली विदेश गएको सरकारी तथ्यांक छ । वैदेशिक रोजगार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षमा श्रमका लागि म्यानपावर कम्पनीमार्फत् विदेशिएका नेपालीको संख्या सबैभन्दा बढी छ । अधिकांश कामदार भएर खाडी मुलुक गएका छन् । अघिल्लो वर्ष श्रमकै लागि ६ लाख २८ हजार नेपाली विदेशिएको यो वर्ष असारको पहिलो हप्तासम्म ७ लाख तीन हजार विदेश गएको रोजगार कार्यालयको तथ्यांक छ । यसरी श्रमका लागि विदेश जानेमा युवाहरुको संख्या अधिक छ । यो वर्षमात्रै ४ लाख ३६ हजारले पहिलोपटक श्रम स्वीकृति लिएका छन्।

नेपालबाट संस्थागत रुपमा १ सय ११ र व्यक्तिगत पहलमा थप ६७ गरी १ सय ७८ मुलुकमा वैदेशिक रोजगारीमा जाने गरेका छन्। रोजगारीका लागि मात्रै होइन, अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या पनि बढेको छ। यस वर्ष ७१ देशमा अध्ययनका लागि १ लाख ५ हजार ९२ विद्यार्थीले अनुमति लिइसकेका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा २५ सयले बढी हो । अहिले पनि दैनिक सरदर ५ सय विद्यार्थी अनुमतिका लागि वैदेशिक अध्ययन अनुमतिपत्र शाखामा धाउने गरेका छन् । समग्रमा यो वर्षमात्रै ११ लाख ६२ हजार ७२४ नेपाली विभिन्न प्रयोजनका लागि विदेश गएको अध्यागमन विभागको तथ्यांक छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्