झापा,असार १५ । गएको प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर ४ बाट बागी उम्मेदवार बनेकी खुश्बु ओलीलाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले काखी च्यापेपछि पार्टीभित्र भाडभैलो भएको छ ।

लिङ्देन र ओली

आफ्नै पार्टीका उम्मेदवारबिरुद्ध बागी उम्मेदवार बनेपछि खुश्बुलाई राप्रपा झापा जिल्ला कार्यसमितिले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशित गरेको थियो।
पार्टीबाट निष्काशित भएकी ओलीलाई अध्यक्ष राजेन्द्र लिङ्देनले विधिबिधानको धज्जी उडाउँदैं असार १२ गते पार्टीको केन्द्रीय सदस्य र प्रशिक्षण बिभागको उपप्रमुखमा नियुक्ति दिएपछि पार्टीभित्र भाडभैलो मच्चिएको हो।

बागी ओलीलाई
लिङ्देनले दिएको पुरस्कार


लिङ्देनको सो हर्कतले पार्टीमा क्रियाशील रहेर काम गरिरहेका नेता तथा कार्यकर्ता समेत निराश भएको बताईएको छ । ‘अध्यक्षले जे गर्दा पनि हुँदो रहेछ, आफ्नै पार्टीको उम्मेदवारलाई हराउन उम्मेदवार बन्ने ओलीलाई सबक सिकाउनु पर्नेमा क्रेनले उठाएर ल्याएजस्तै पदमा राखेपछि हामीमा अपमानित तथा लज्जाबोध भएको अनुभूति भएको छ‘, राप्रपाका एक केन्द्रीय सदस्यले भने, ‘अध्यक्षको काम गराईले हाम्रो ऊर्जा घटेको छ, राजनितिक भविष्य नै अन्यौल देखेका छौ ।’
ती नेताले पार्टी विधि र पद्धतिअनुसार चल्नुपर्नेमा जोड दिँदै नेतृत्वलाई खुसी पार्नेहरु मात्र पार्टीमा हाबी हुने हो भने पार्टी धराशायी भएर जाने बताए।

‘उहाँको काम गराई बुझिनसक्नुछ, उदेकलाग्दो छ’ , ती नेताले भने, ‘एनि हाउ आफू आउ भनेर पार्टीका उम्मेदवारलाई एमालेसँग भिडाउनु हुन्छ, आफू चाहिँ सेभ जोनमा खेल्दै त्यहि एमालेसँग एलायन्स गर्नुहुन्छ ।’


यता राप्रपा झापा जिल्ला अध्यक्ष केशव ओझाले ओलीलाई कारवाहीको लागि सिफारिस मात्र गरिएको गोलमोटल जवाफ दिए । तर उनले निकालेको बिज्ञप्तिमा साधारण सदस्य समेत नरहने गरी कारवाही गरिएको उल्लेख छ । अध्यक्ष ओझाले भने, ‘खुस्बु ओलीजीले आत्मआलोचना गर्दै पार्टीमा खट्छु हरेक गतिविधिमा सक्रिय हुन्छु भनेपछि केन्द्रीय अध्यक्ष ज्यूले पार्टीको जिम्मेवार पदमा मनोनित गर्नुभएको हो। यसमा जिल्लाभन्दा केन्द्रको निर्णय नै उपयुक्त हुन्छ ।’

त्यसो त पार्टीको असार १० भएको केन्द्रीय कार्यसम्पादन बैठकमा अधिकांश सदस्यहरुले पार्टी संचालन गर्न दीर्घकालिन योजना, फराकिलो चिन्तन र सबैलाई समेट्न सक्ने क्षमताको आवश्यकता पर्ने तर अहिले पार्टी नेतृत्व चाकडी, चाप्लुसी र भक्तिगानमा रुमल्लिँदै एकांकी ढङ्गले अघि बढेको भन्दै अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति खरो असन्तुष्टि जनाएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्