झापा , असार १५ । पछिल्लो पाँच वर्षयता झापामा हात्तीको आक्रणमबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।

चालु आर्थिक वर्ष २०७९-८० मा हालसम्म एक गैर नेपालीसहित सातजनाको हात्तीको आक्रमणबाट मृत्यु भइसकेको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए । हात्तीको आक्रमणबाट गत आव २०७८-७९ मा पाँचजना, आव २०७७-७८ मा तीनजना , २०७६-७७ मा दुईजना , आव २०७५-७६ मा एकजना र आव २०७४-७५ मा पाँचजनाको मृत्यु भएको छ । झापामा पछिल्लो १२ वर्षयता हात्तीको आक्रणममा परी ६१ जनाको मृत्यु भइसकेको छ जसमा सातजना गैर नेपाली रहेका छन् । त्यस्तै, सोही अवधिमा १६ वटा हात्तीको समेत मृत्यु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । चालु आवमा जिल्लामा दुई वटा हात्तीको मृत्यु भइसकेको छ । मृत्यु हुनेमा अधिकांश आफ्नै घर-खेतमा हात्तीले आक्रमणमा परेका हुन् । बाह्रदशी गाउँपालिका-२ का देवीबहादुर अधिकारी आफ्नै जग्गामा घाँस काटिरहेको अवस्थामा हात्तीको आक्रमणको शिकार बने । त्यस्तै, बाह्रदशी-१ का जगतबहादुर भुजेल सामुदायिक वनभित्र घाँस काट्न जाँदै गर्दा हात्तीको आक्रमणमा परे । शिवसताक्षी नगरपालिका-११ की कृष्णमाया भण्डारीलाई घरमै सुतिरहेको अवस्थामा हात्तीले मारेको डिभिजन वन कार्यालयको रेकर्डमा उल्लेख छ ।

यस्तै, बुद्धशान्ति गाउँपालिका-४ का भीमबहादुर भट्टराईको मकैबारीमा हात्तीले आक्रमण गरेको थियो । बुद्धशान्ति-५ की सम्झना श्रेष्ठ स्कुटरमा घर जाँदै गर्दा बाटोमै हात्तीले आक्रमण गर्दा मृत्यु भएको थियो । भद्रपुर नगरपालिका-७ का गिरेन कर्मकारलाई हल्दीबारी गाउँपालिका-२ चिया बगान नजिकै च्याउ टिप्न जाँदा हात्तीको आक्रमणमा परेका थिए । दमक-३ का कमैया राई (गैरनेपाली)लाई हम्सेदुम्से सामुदायिक वनमा हात्तीले आक्रमण गरेको थियो भने उनको उपचारको क्रममा लाइफलाइन अस्पताल दमकमा मृत्यु भएको थियो ।

दुई सय १३ जनाले पाए राहत
झापामा चालु आर्थिक वर्षमा दुई सय १३ जना हात्तीपीडितले राहत पाएका छन् । हात्तीको आक्रमणबाट घाइते, मृत्यु भएका, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्याएबापत उनीहरुले रु ७१ लाख ६६ हजार सात सय राहत पाएको डिभिजन वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए । चालु आवमा घाइतेको उपचारका लागि रु चार लाख, मृत्यु राहत रु ५० लाख, सम्पत्ति, चौपाया र अन्नबालीमा क्षति पुर्यार्एबापत रु १७ लाख ६६ हजार सात सय राहत रकम उपलब्ध गराइएको उनले बताए । गत असार १२ गते हात्तीको आक्रमणबाट मृत्यु भएका भद्रपुर-७ का गिरेन कर्मकारको राहत रकम प्रक्रियामा रहेको छ । सरकारले गैरनेपालीको हकमा भने राहत उपलब्ध नगराउने उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्