बाहुनडाँगी, असार १६ । खानेपानीको अभाव झेलिरहेको बाहुनडाँगीको एउटा विद्यालयले शनिवारदेखि केहि राहत महसुस गरेको छ ।

मेचीनगरको विकट गाउँको एउटा विद्यालयमा खानेपानीको धारा पुग्दा त्यहाँका विद्यार्थी, शिक्षक र अभिभावकहरु खुशी भएका छन् । त्यो अवसर रोटरी क्लब अफ काँकरभिट्टाले जुराईदिएको हो ।
मेचीनगर–२ स्थित मेची जनसाधारण विद्यालयमा विद्यार्थी, शिक्षक र व्यवस्थापन पक्षलाई सहजरुपमा शुद्ध पिउने पानी उपलब्ध होस् भन्ने हिसावले तीन ठाउँमा ९ वटा धारा जडान गरिदिएर रोटरीले उदाहरणीय कार्य गरेको छ ।
शनिबार रोटरीले सो विद्यालयमा एक कार्यक्रमको आयोजना गरेर शुद्ध पिउने पानीको धारा हस्तान्तरण गरेको हो ।

३ महिना अघिदेखि रोटरीले मेचीनगर–२ नम्बर वडा कार्यालयसँगको सहकार्यमा विद्यालयमा शुद्ध पिउने पानीका लागि संरचना निर्माण थालेको थियो ।
निर्माण सम्पन्नपश्चात् रोट्रियर २०२३–२४ का अध्यक्ष ईन्जिनियर रुद्र मैनालीले कार्यभार सम्हालेको पहिलो दिनको अवसरमा सो आयोजना विद्यालयलाई हस्तान्तरण गरिएको बताइएको छ ।
अब विद्यार्थीले युभी वाटर ट्रिटमेन्ट प्रणालीमार्फत शुद्ध भएको पानी पिउन पाउनेछन् । वडाध्यक्ष दिपक बरालको प्रमुख आतिथ्यतामा सम्पन्न आयोजना हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् नगर कार्यपालिका सदस्य नरेन्द्र न्यौपाने, रोटरीका निवर्तमान अध्यक्ष सुजन प्रधानलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बरालले विद्यालयमा शुद्ध पिउने पानीको आयोजना निर्माण गरिदिएकोमा रोटरीलाई धन्यवाद दिएका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्यौपानेले विद्यालयले पिउने पानीको अभाव झेल्नुपरेको समस्या सुनाएका थिए ।
‘पानीको संकट थियो’, अध्यक्ष न्यौपानेले भने–‘दुषित पानी पिउनुपर्ने बाध्यता उस्तै थियो । तर अब यो अबस्थाको अन्त्य भएको छ । रोटरीलाई धन्यवाद छ ।’ रोटरी र वडाको करिव तीन लाख रुपैयाँको बजेटमा सो आयोजना सम्पन्न भएको बताइएको छ ।

उनले वडा नम्बर २ मा रहेका ३ वटा स्कुलमध्ये दुईवटा स्कुलमा खानेपानी धारा पुग्यो अब गाडागल्लीको एउटा स्कुलमा पनि खानेपानीको धारा पु¥याईदिन रोटरीलाई अनुरोध गरेका छन ।
यसअघि रोटरीले मेचीनगरका केहि विद्यालयमा सो प्रकृतिका योजनाहरु गरेको छ । अब बाँकी रहेका ठाउँहरुमा पनि चाँडै पु¥याउने लक्ष्य रहेको अध्यक्ष मैनालीले बताए । खानेपानी, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका सामाजिक क्षेत्रमा काम गरिरहेको उनको भनाई छ ।
रोटरीका अध्यक्ष रुद्र मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तथा औचित्यमाथि निवर्तमान अध्यक्ष सुजन प्रधानले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन रोटरीका योजना संयोजक दिपेन्द्रराज पाण्डे र सचिव भगिरथ राईले संयुक्तरुपमा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्