दुधे, असार १६ । झापाको शिवसताक्षी नगरपालिकाले बालबालिका र युवा वर्गमा पठन संस्कृतिको विकास गर्नका लागि पालिकाका विभिन्न स्थानमा ज्ञानघर निर्माणको अभियान सुरु गरेको छ ।


शिवसताक्षी नगरपालिकाका प्रमुख मेगाहाङ थोप्रा रोशनले शनिवार शिवसताक्षी नगरपालिका ७ ब्याङडाँडामा ज्ञानघरको निर्माणपछि उद्घाटन गर्दै अभियानको सुरुवात गरेका हुन् । स्थानीय गोर्खाली हर्ट नामक क्लवको संयोजन र नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त ज्ञानघरमा नगर प्रमुखले बृहत नेपाली शब्दकोषलगायतका पुस्तकहरु प्रदान गर्दै उद्घाटन गरे । गाउँपालिकाले प्रदान गरेको ४ लाख रकममा अन्य दाताहरुको सहयोग थपेर उक्त ज्ञानघरको निर्माण गरिएको गोर्खाली हटका अध्यक्ष बिजय लिम्बूले बताए ।

यसै आर्थिक बर्षमा शिवसताक्षी नगरपालिकाभित्र माईधार र धरमपुरमा ज्ञानघर तयार भइसकेको र आगामी आर्थिक बर्षमा थप ४ स्थानमा ज्ञानघर निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिसकिएको शिवसताक्षी नगरपालिकाका प्रमुख थोप्राले बताए । पछिल्लो समय बालबालिकारुमा मोवाईल र टिभीको लतका कारण आचरण र मानसिक स्वास्थ्यमै समस्या देखिएपछि पत्रपत्रिका र पुस्तक पढ्ने पठन सस्कृतिको विकासका लागि नगरका प्रायः सबै चौकमा ज्ञानघर निर्माणको अभियानलाई देशकै नमुनाका रुपमा नगरले संचालन गरेको नगर प्रमुख थोप्राले बताए । ज्ञानघरलाई नगरव्यापी बनाउनका लागि नगरपालिकाले नीति बनाएर आवश्यक बजेट समेतको व्यवस्थापन गरिसकेको नगर प्रमुखको भनाई छ । ज्ञानघरको लागि अघिल्लो आर्थिक बर्षबाट बजेट बिनियोजन सुरु गरेकोमा झापाकै १५ पालिका तथा सम्भवत कोशी प्रदेशकै नौलो कार्यक्रम शुरु गरिएको नगर प्रमुखले बताए । ज्ञानघरबाट सबै उमेर समूह र समुदायका नगरवासीले फाइदा लिन सक्ने थोप्राले बताए । ज्ञानघरमा विद्यार्थी, गृहणी, लोकसेवा आयोगका विद्यार्थीदेखि लिएर राजनैतिक गतिविधि जान्न चाहने स्थानीय नेतासमेतलाई फाइदा पुग्नेगरी पत्रपत्रिकाको व्यवस्था गरिने नगर प्रमुखले जानकारी दिए ।

ज्ञानघरलाई शिक्षाकै महत्वपूर्ण लगानीका रुपमा लिइएको र नगरपालिकाले समग्र बजेटको करिव १० प्रतिशत बजेट शिक्षामा बिनियोजन गरेको शिवसताक्षी नगरपालिकाका लेखा अधिकृत प्रकाश योङहाङले बताए ।
नगरका ग्रामीण चौकहरुमा स्थापना हुने ज्ञानघरमा पुस्तक, विभिन्न पत्रपत्रिका र जानकारीमुलक सूचनाहरु उपलब्ध हुने योङहाङले बताए । बालबालिकाका तथा युवा पुस्ताहरुमा पठनशैली हराउँदै गएकोले यसको विकास गर्नका लागि नगरपालिकाले ज्ञानघरको अवधारणा ल्याएको लेखा प्रमुख योङहाङको भनाई छ । शिवसताक्षी नगरपालिकालाई शैक्षिक हव बनाउने योजनामा ज्ञानघरको मुख्य भूमिका हुन सक्ने योङहाङले बिश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै शिवसताक्षी नगरपालिका ७ का वडाध्यक्ष भवानीविक्रम चेम्जोङले ज्ञानघर निर्माण नगरकै मात्र नभएर जिल्लाकै नौलो कार्यक्रम भएको भन्दै नगर गौरवको योजना भएको दावी गरे । ज्ञानघरबाट सबै उमेर र समूहका नागरिकलाई फाइदा लिन समेत वडाध्यक्ष चेम्जोङले अनुरोध गरे।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका शिक्षा शाखा प्रमुख छविलाल ढकाल, शिवसताक्षी रेडक्रसका अध्यक्ष गोविन्द काफ्ले, किरात याक्थुङ चुम्लुङका अध्यक्ष वीरवल जवेगु, मेची अंग्रेजी माविका प्रिन्सिपल पदम कुँवरलगायतले ज्ञानघर निर्माणले शिवसताक्षीको शिक्षा र नैतिक आचरणका क्षेत्रमा महत्वपूर्ण काम भएको बताए ।
यसैबीच स्थानीय उमा अधिकारी, रोहित गिरीलगायतका दाताहरुले ज्ञानघरका लागि पुस्तक समेत प्रदान गरे । गोर्खाली हर्टका अध्यक्ष बिजय लिम्बूको अध्यक्षता रहेको कार्यक्रममा स्वागत चन्द्रहाङ लिङ्देनले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्