झापा , असार १७ । जापान अध्ययनका लागि गएर केहि महिना अघिबाट जागिरे जीवन सुरुवात गरेकी एक नेपाली युवती टोकियोमा आफ्नै कोठामा मृत फेला परेकी छिन् ।

४ बर्षअघि भाषा विद्यार्थीको रुपमा जापान गएकी कविता राजवंशी आफ्नै कोठामा मृत भेटिएकी हुन् । मोरङ बेलबारी नगरपालिका वार्ड नम्वर ९, डांगीहाट स्थायी घर भएकी कविता हानेदा इन्टरनेशनल एयरपोर्टको टर्मिनलमा कार्यरत थिइन् । जुन २८ तारिखबाट सम्पर्कविहिन बनेकी कवितालाई ४ दिनपछि जुलाई १ तारिख शनिवार टोकियो ओमोरीमा रहेको उनको कोठामा झुण्डिएको अवस्थामा मृत फेला पारिएको हो । जुन २७ तारिख कामबाट फर्किएपछि २८ तारिख सँगै काम गर्ने बलामी थरकी साथीसँग सामान्य कुराकानी भएपछि कविता सम्पर्कविहिन बनेकी थिइन् । तीन दिनसम्म बेखवर बनेपछि कम्पनी र उनका साथीहरुले खोजी गर्दै प्रहरीमा खवर गरेपछि कोठाको झ्याल फुटाएर भित्र पस्दा झुण्डिएको अवस्थामा मृत फेला पारिएको बुझिएको छ । मृतकको निकट एक साथीका अनुसार बेलाबखत कविताले काममा ’स्ट्रेस’ भएको बताउने गरेकी थिइन् । ’तर यतिसम्म दुखद घटना होला भनेर आफूहरुले कहिल्यै नसोचेको’ ती साथीले बताइन् । घटनाको प्रकृति हेर्दा कविताले आफ्नो मृत्यु आफैले रोजेको जस्तो देखिएको प्रहरीले बताएको छ । यद्यपि पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र मृत्युको कारण थाहा हुने प्रहरीले बताएको छ । दुखद घटनाको बारेमा नेपालस्थित परिवारजनलाई खवर गरिसकिएको बुझिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्