झापा, असार १७ । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले सरकार गठनका लागि आह्वान गरेका छन् ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि दाबी पेस गर्न ५ दिनको समय दिएका हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित सचिव नरेन्द्र श्रेष्ठले आइतबार साँझ जारी गरेको विज्ञप्तिमा संविधानको धारा १६८ को उपधारा (२) वा (३) मध्ये कुन अनुसार मुख्यमन्त्री नियुक्त गरी सरकार गठन गर्न राजनीतिक दलहरुलाई दाबी पेसका लागि आहृवान गर्ने विषयमा महान्यायाधिवक्तासँग प्रदेश प्रमुखले माग गरेको राय आइतबार प्राप्त भएपछि उपधारा २ अनुसार असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेको उल्लेख छ ।
संविधानको धारा १६८ को उपधारा (२) अनुसार प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ ।
प्रदेश प्रमुखले आह्वान गरे पनि सरकार गठनका लागि दाबी पेस गर्न गठबन्धन दललाई ४७ प्रदेश सांसदको समर्थन पुग्ने अवस्था छैन । गठबन्धन दलले असन्तुष्ट रहेको जनता समाजवादी पार्टी वा राप्रपाको समर्थन जुटाउन सकेको अवस्थामा मात्रै सरकार गठनका लागि दाबी पेस गर्न सक्ने अवस्था सिर्जना हुन्छ ।
९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत (समाजवादी)का ४ र जनता समाजवादी पार्टीको एक गरी ४७, एमालेका उपसभामुखसहित ४० र राप्रपाका ६ जना प्रदेश सांसद छन् । तर जनता समाजवादी पार्टीले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन नहुन्जेल कुनै पनि दललाई सरकार गठनका लागि समर्थन नगर्ने अडानमा छ । जसले गठबन्धन दललाई सरकार गठनका लागि दाबी पेस गर्न आवश्यक ४७ प्रदेश सांसदको समर्थन पुग्ने अवस्था छैन ।

राप्रपाको सर्त मुख्यमन्त्री आफैंलाई
राप्रपा संसदीय दलका नेता भक्ति सिटौलाले कांग्रेस र माओवादी केन्द्रले प्रदेश सरकारको नेतृत्व गरेर मुख्यमन्त्री बन्ने हठ त्याग्नु पर्ने सर्त अघि सारेका छन् । प्रदेशमा राजनीतिक स्थिरताका लागि राप्रपालाई सरकारको नेतृत्व दिएर मुख्यमन्त्री दिनुपर्ने उनले सर्त अघि सारेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्