झापा, असार १८ । असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको ताकेताले आर्थिक संकटमा परेका ऋणीहरु हैरान भइरहेका बेला शिवसताक्षी नगरपालिकाले सार्वजनिक सूचना जारी गरी समयभित्र सहकारीहरुको ऋण तिर्न चेतावनी दिएको छ ।

सहकारी संस्थाहरुले लगानी गरेको ऋण असुली गरिदिन नगरपालिका स्वयं लागेको देखिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईले जारी गरेको सूचनामा यदि समयमा सहकारीको ऋण नतिरी अटेर गरे वा सम्पर्कमा नजाने ऋणीहरुको नाम सार्वजनिक गर्नुका साथै प्रचलित कानुनबमोजिम कार्वाही गर्ने चेतावनी दिइएको छ ।

शिवसताक्षी नगरपालिकाको नियमन क्षेत्रभित्र ५० वटा सहकारीहरु रहेका छन् । ऋण असुली गरिदिनका लागि नगरको एउटा महिला सहकारीले नगरपालिकामा लिखित निवेदन दिएको र अरुले मौखिक रुपमा भनेपछि सो सूचना जारी गरिएको सहकारी अधिकृत बद्री दाहालले बताए । उनले सहकारीको ऋण उठाइदिने भन्दा पनि सहकारीहरुको आग्रहमा सो सूचना जारी गरिएको जानकारी दिए । उनले गलत गर्ने शिवसताक्षीका सहकारीहरुमाथि पनि उजुरी परेको जानकारी दिए । शिवसताक्षीका दुईवटा सहकारीले निक्षेपकर्ताको बचत फिर्ता नगरेर कार्यालय बन्द गरेका छन् । ती दुईवटा समस्याग्रस्त सहकारीको बारेमा अनुसन्धान गर्न कार्यपालिका सदस्य रामनरेश शर्माको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको छ । जसको सदस्यहरुमा सहकारी अधिकृत बद्री दाहाल र लेखा अधिकृत प्रकाश योङहाङ रहेका छन् । लघुवित्त र सहकारीहरुले विपन्न वर्गलाई उठिवास लगाइरहेको बेला स्थानीय सरकारले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर आफ्ना जनतालाई धम्कयाउनु ठीक नभएको दुर्गा प्रसाईले बताएका छन् । लघुवित्त र सहकारीहरुको बेथितिविरुद्ध आन्दोलनको अगुवाई प्रसाईले गर्दै आएका छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्