मेचीनगर, असार १८ । मेचीनगर नगरपालिका-६ स्थित काँकडभिट्टामा एनआईसी एसिया बैङ्कको एटिएमबाट रकम लुट्ने प्रयास भएको छ ।

सोमवार राति २ बजेको समयमा राधिका क्षेत्रीको घरमा सञ्चालित बैङ्कको एटिएमबाट रकम लुट्ने प्रयास असफल भएको हो ।

भुइँतलामा रहेको एटिएमको सटरमा भित्र पसेर एटिएममा राखिएको रकम लुट्ने प्रयास भएको बैङ्कका मेनेजर रेवन्त न्यौपानेले बताए । तर, एटिएमको भल्ट नखुलेकाले करिब २० लाखभन्दा बढी रकम सुरक्षित रहेको उनले बताए ।

२०-२२ वर्षको एक नकाबधारी युवकले एटिएमभित्र पसेर भल्ट फोड्ने प्रयास गरेको बैङ्कको सिसी टिभी फुटेजमा रहेको उनको भनाई छ । ‘भल्ट खोल्ने प्रयास गरेको, तर नखुलेपछि त्यहाँबाट हिँडेको सिसी टिभीको फुटेजमा देखिन्छ,’ उनले भने ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टा डीएसपी दीपक भारतीले बैङ्कको एटिएम फोडेर राति पैसा निकाल्ने प्रयास गरेको पाइएको बताए । फरार रहेको युवकको प्रहरीले खोजी गरिरहेको उनले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्