झापा, असार १९ । नेपालले एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । मंगलबार फाइनलमा घरेलु टोली मलेसियालाई २ सय २१ रनले पराजित गर्दै नेपालले पहिलो पटक यस नामले आयोजित प्रतियोगिता जितेको हो ।

नेपालले यसअघि एसीसी यू-१६ इस्टर्न रिजनको नामले २०१७ र २०१९ मा आयोजित प्रतियोगिता जितेको थियो । त्यस हिसाबमा मलेसियामा यसपटक पाएको सफलताले नेपालले एसियाली क्रिकेट परिषद् (एसीसी) को यू-१६ क्रिकेटमा ह्याट्रिक गरेको हो ।

२ सय ५३ रनको विशाल लक्ष्य लिएर आएको मलेसिया १४.५ ओभरमा ३१ रनमै अलआउट भयो । कप्तान अभिषेक तिवारीले ६ ओभरमा १ मेडन राख्दै ७ रनमात्र खर्चेर ६ विकेट लिए । सन्तोष यादवले ३ ओभरमा २ मेडन राख्दै ९ रन खर्चेर ३ तथा सागर गैरे र अशोक धामीले १ विकेट लिए । मलेसियाबाट मोहम्मद अक्रम (१०) ले बाहेक अन्यले दोहोरो स्कोर बनाउन सकेनन् ।
यसअघि नरेन भट्टले सानदार शतक बनाएपछि नेपालले फाइनलमा मलेसियाविरुद्ध मजबुत स्कोर बनाएको थियो । नरेनले ८२ बलमै १ सय रन पूरा गरेपछि टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरको खेलमा ८ विकेट गुमाई २ सय ५२ रन बनाएको थियो ।
नरेन १ सय १२ रन बनाई अविजित रहे । उनले ८९ बल खेल्दै १० चौका र २ छक्का प्रहार गरे । नरेन र सन्तोष यादवले पाँचौं विकेटमा शतकीय साझेदारी गरेपछि नेपाल विशाल स्कोर बनाउन सफल भयो । सन्तोष २६ रनमा आउट भएपछि १ सय ४ रनको यो साझेदारी टुटेको थियो । उनले २९ बल खेल्दै २ चौका प्रहार गरे ।

नेपालले समूह चरणमै पनि मलेसियालाई ८४ रनले पराजित गरेको थियो । तल्लोक्रममा अशोक धामीले ३६ बल खेली ३ चौका र ५ छक्का प्रहार गरेपछि नेपाल ३३.४ ओभरमा १ सय ८३ रनमा अलआउट भएको थियो । जबाफमा आएको मलेसियालाई नेपालले ३०.५ ओभरमा ९९ रनमा अलआउट गरेको गरेको थियो ।
बायुमास ओभल मैदानमा नेपालीले यही उच्च प्रदर्शनलाई निरन्तरता दिएको थियो । यसअघि निरज यादव र सूर्यांशु कोइरालाले पुनः एकपटक नेपाललाई राम्रो सुरुआत दिलाएका थिए । यी दुईले आठौं ओभरमा ४१ रन जोडेका थिए । सूर्यांशु दुई चौका प्रहार गरी २३ बलमा १८ रन बनाई आउट भए । नरेनसँग दोस्रो विकेटमा ५५ रन जोडेका निरज अर्धशतक बनाउन चुके । निरजले ४९ बल खेली ६ चौकासहित ४७ रन बनाए ।

दीप भुजेल ५ र प्रतीक भट्टराई १ रनमा रनआउट भएपछि नेपाल केही समय दबाबमा परेको थियो । यहीँबाट नरेन र सन्तोषले नेपाली इनिङ्स उकासेका थिए । आफूले सामना गरेको पहिलो बलमै चौका प्रहार गरेका अभिषेक तिवारी अर्को बलमा बोल्ड भए । अशोक धामी एक छक्का प्रहार गर्दै ७ बलमा ११ रन बनाई आउट भए । आशिष लोहार २ रनमा बोल्ड भए । प्रतियोगितामा नेपालले समूह चरणमा मलेसियासहित थाइल्यान्डलाई र सेमिफाइनलमा सिंगापुरलाई पराजित गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्