झापा, असार २१ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

बोर्डको बिहीबारको बैठकले नतिजा सार्वजनिक गरेको हो । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।
नतिजा लेटर ग्रेडिङ निर्देशिका २०७२ अनुसार सार्वजनिक भएको हो । त्यससम्बन्धी निर्णय बोर्डले गत सोमबार गरेको थियो । बुधबार बैठक बसेर बिहीबार नतिजा सार्वजनिक गर्ने भनिएपनि बुधबार त्रुटि सच्याउन भन्दै बैठक बस्न सकेको थिएन ।
यसपालि एसईई दिने विद्यार्थी पुरानो पाठ्यक्रमको अन्तिम ब्याच हुन् । त्यसैले पुरानो निर्देशिका (२०७२) अनुसार नै नतिजा प्रकाशन हुनुपर्ने निचोडमा पुगिएको हो । निर्देशिका २०७२ मा सैद्धान्तिक र प्रयोगात्मकको अंक जोडेर ३५ प्रतिशत अंक ल्याए पनि विद्यार्थी ग्रेडिङमा पर्ने व्यवस्था छ भने निर्देशिका २०७८ मा सैद्धान्तिक विषयमा अनिवार्य ३५ प्रतिशत अंक ल्याउनु पर्ने व्यवस्था छ । दुई विषयसम्म नन् ग्रेडिङ परे तत्कालै ग्रेडवृद्धि परीक्षा दिन पाइने व्यवस्था छ ।

एसईईको नतिजाअनुसार सबैभन्दा माथिल्लो ग्रेड ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या करिब साढे २२ हजार रहेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका अनुसार ३.६० देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या २२ हजार ४ सय ७५ रहेको छ । यो कुल परीक्षार्थीको ४.६३ प्रतिशत हो ।

यसैगरी कार्यालयका अनुसार ३.२० देखि ३.६० जीपीए ल्याउनेको विद्यार्थी संख्या ५५ हजार ६९ रहेको छ । जुन ११.३६ प्रतिशत हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्