झापा, असार २३ । भारतबाट प्रतिबन्धित पन्छीजन्य वस्तु ब्रोइलर कुखुरा नेपाल भित्रन थालेपछि कोशी प्रदेशका व्यवसायीहरु चिन्तित बनेका छन् ।

भारतसंग सीमा जोडिएको झापा, मोरङ र सुनसरीका दक्षिणी नाकाबाट कुखुराको तस्करी बढेको भन्दै स्थानीय प्रशासनसंग व्यवसायीले त्यस्तो प्रतिबन्धित कुखुराजन्य वस्तुको अवैध आयात तत्काल रोक्न माग गरेका छन् ।

झापाको नकलबन्दा, काँकडभिट्टा,भद्रपुर,कचनकवल,झापा बजार, कुन्जीबारी, गौरीगञ्जलगायतका नाकाबाट दिनहुँ भारतीय ब्रोइलर कुखुरा नेपाल आयात हुने गरेको व्यवसायीले बताएका छन् । यस्तै मोरङको जहदा, धनपालथान, सुनवर्षी, रतुवामाई, रङ्गेली, आमबारी, विराटनगरलगायतका नाकाबाट पनि दिनदहाडै जिउँदो ब्रोइलर कुखुरा, त्यसको तयारी मासु र अन्डाको अवैध आयात हुने गरेको जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष विवेक निरौलाले बताए ।
यी नाकाबाट दैनिक ५ हजारभन्दा बढी कुखुरा भित्रिने गरेको उनीहरुको दावी छ । नेपाल सरकारले नै बैधता नदिएको पंछीजन्य वस्तुको गैरकानुनी आयातलाई तत्काल रोक्न व्यवसायीले नेपाल प्रहरी र सशस्त्र प्रहरीका दुईवटै निकायसंग माग गरेका छन् ।

प्रदेशका व्यवसायीहरूले शुक्रवार नेपाल प्रहरीको कोशी प्रदेश प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बाँस्तोला र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेललाई भेटेर ध्यानाकर्षणपत्र बुझाएका छन् । व्यवसायीहरुले ध्यानाकर्षणपत्र बुझाउँदै भनेका छन्,‘ भारतीय प्रतिबन्धित बोइलर कुखुराको अवैध आयात नरोके कृषि पेशामा आत्मनिर्भर एकमात्र पोल्ट्री फार्म व्यवसाय धराशायी अवस्थामा पुग्नेछ ।’ अवैध रुपमा भित्रने कुखुराले झापा, मोरङ र सुनसरीमा पोल्टी फार्म सञ्चालन गरेका व्यवसायीहरुको व्यापार धरापमा परेको उनीहरुको गुनासो छ । ‘कुखुराको चल्ला, अन्डा र दाना उत्पादन गर्न व्यवसायीको अरबौं रुपैयाँ लगानी रहेको छ,’ मेची पोल्ट्री फार्मका सञ्चालक सुबोध निरौलाले भने,‘ भारतबाट कुखुराजन्य वस्तुको अबैध आयातले नेपाली व्यवसायीको लगानी डुब्ने देखिन्छ । हाम्रो लगानी बचाउन र देशलाई ब्रोइलर कुखुराबाट आत्मनिर्भर बनाउन नाकामा निगरानी बढाईदिनु पर्यो ।’
झापामा मात्र कुखुराजन्य वस्तुको उद्योगमा करिब ८ हजार जनाले प्रत्यक्ष अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । यो व्यवसायबाट कम्तीमा २ हजार घरपरिवारको गुजारा चलेको जिल्ला कुखुरा व्यवसायी संघ झापाका अध्यक्ष निरौलाले बताए । उनले भने,‘ सीमानाकामा खटिएका प्रहरीले यतिमात्र बुझिदिने हो भने हामी झापामा मात्र ५ हजार घरको गुजारा कुखुरापालन व्यवसायबाट चलाउन सक्छौं ।’

व्यवसायीले बुझाएको ध्यानाकर्षणपत्र बुझ्दै कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी महानिरीक्षक राजेशनाथ बाँस्तोलाले व्यवसायीको गुनासोप्रति आफू गम्भीर रहेको बताए । उनले मातहतका सुरक्षा निकायलाई भारतसँग सिमाना जोडिएका नाकामा सक्रियता बढाउन निर्देशन समेत दिए । उनले भने,‘ तपाई व्यवसायीहरु ढुक्क हुनुहोस् । नेपाल प्रहरी भारतीय प्रतिबन्धित कुखुराजन्य वस्तुको अवैध आयात रोक्न निर्मम ढंगले अघि बढ्नेछ । यसमा कुनै शंका नगर्नुहोस् ।’
सशस्त्र प्रहरी बल नेपाल नम्बर १ वराह बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक अञ्जनीकुमार पोख्रेलले पनि २४ घण्टाभित्रै ठोस रिजल्ट आउनेगरी सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई निर्देशन हुने बताए । झापा र मोरङका सीमानाकाबाट सशस्त्र प्रहरीको जनशक्ति अभावको फाइदा उठाउँदै एकाध कुखुरा भित्रिएको हुन सक्ने उनले बताए । ‘अब, तपाईँ व्यवसायी साथीहरुको सुराकको सहयोगले अबैध वस्तु आयातलाई निमिट्यान्न बनाउने तपाईँहरुलाई विश्वास दिलाउँछु ।’

कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा मात्र २५ वटा दाना उद्योग, ८ वटा ह्याचरी उद्योग र साना ठुला गरेर २ हजार कुखुरा फार्म संचालनमा छन् । मेची पोल्ट्री फार्म झापाका संचालक सुवोध निरौलाका अनुसार प्रदेशका तीन जिल्लामा मात्र हप्तामा २ लाख कुखुराको चल्ला उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्