बिर्तामोड , असार २३ । बिर्तामोड नगर अस्पताल सेवा प्रवाह मूल्याङ्कनमा प्रथम भएको छ ।

आर्थिक वर्ष २०७९÷०८०को स्वास्थ्य तर्फको वार्षिक समीक्षा कार्यक्रमअन्तर्गत विभिन्न सूचाङ्क मूल्याङ्कनका आधारमा नगर अस्पताल प्रथम भएको हो ।
स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी र तथ्याङ्क अधिकृत चुडामणि लुइटेलसहितको उपस्थितिमा शनिबार नगरपालिकामा आयोजित समीक्षात्मक कार्यक्रमबाट नगर अस्पताल प्रथम भएको मूल्याङ्कन गरिएको हो।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुनिल अधिकारीलाई कार्यबाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी र स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले संयुक्तरुपमा प्रथम भएको प्रमाणपत्र प्रदान गरे ।
यस्तै सेवा प्रवाह मूल्याङ्कनमा वडा नम्बर ८मा रहेको गरामनी आधारभूत स्वास्थ्य चौकी द्वितीय र वडा नम्बर ६को आधारभूत स्वास्थ्य केन्द्र तृतीय भएको छ । द्वितीय र तृतीय हुने स्वास्थ्य संस्थाहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको छ ।
यसैबीच नगरपालिकाले उत्कृष्ट २ जना कर्मचारीलाई नगद ५ हजार रुपैयाँसहित दोसल्ला ओढाएर सम्मान गरेको छ । बिर्तामोड नगर अस्पतालकी सिअनमी अधिकृत ओमकुमारी गुरुङ र बिर्तामोड नगर अस्पतालका निरीक्षक अजय विश्वकर्मालाई सम्मान गरिएको हो।
गुरुङलाई आमा सुरक्षा, परिवार योजनालगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमलाई प्रवर्द्धन गर्न,स्वास्थ्य सेवालाई समुदाय स्तरमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याएवापत र विश्वकर्मालाई क्षयरोग, कुष्ठरोग लगायत स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमहरुलाई प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेवापत सम्मान गरिएको नगरका स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टले जानकारी दिए।
कार्यवाहक नगरप्रमुख नगेन्द्रप्रसाद संग्रौला, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारी, कार्यपालिका सदस्य यमुना आचार्य, स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटी, नगरका स्वास्थ्य शाखा प्रमुख राजिवकृष्ण विष्टलगायतले दोसल्ला ओढाएर नगदसहित सम्मानपत्र प्रदान गरे । बिर्तामोड नगरपालिका क्षेत्रभित्र नगर अस्पतालसहित ११ वटा सरकारी स्वास्थ्य संस्था रहेका छन् ।
कार्यक्रममा बोल्दै कार्यबाहक नगरप्रमुख संग्रौलाले नगर अस्पतालको भौतिक संरचना व्यवस्थित गर्ने कार्य भईरहेको बताए । अस्पताल अहिले बालक नै रहेको र यसलाई वयस्क बनाउने जिम्मा स्वास्थ्यकर्मीहरुकै रहेकाले कर्तव्यनिष्ठ भएर काम गर्नु पर्ने बताए । उनले जनघनत्वको हिसावले बिर्तामोड ठुलो रहेका कारण अन्य पालिकाकै हिसावले बिर्तामोडलाई नहेर्न स्वास्थ्य कार्यालयमार्फत सरकारलाई आग्रह गरे ।
आवश्यक वजेटको अभाव भएपनि नगर अस्पतालमा धेरै काम भएको भन्दै उनले नागरिकमैत्री सेवा प्रभाव गर्न कर्मचारीहरुलाई सुझाव दिए ।
नगर अस्पतालमा विमा सेवा, २४सै घण्टा निःशुल्क नर्मल डेलिभरी (प्रसूति) सेवा, बालरोग विशेषज्ञ सेवा ,सहुलियत दरमा एक्स–रे, भिडियो एक्स–रे र इसीजी, गर्भवती जाँच, परिवार नियोजन, अत्याधुनिक प्रविधिसहितको प्रयोगशाला ल्याव, बच्चाहरुको नियमित खोपलगायतका सेवाहरु उपलव्ध छन् । डाइलोसिस सेवा, २४ सै घण्टा इमरजेन्सी सेवा , थाइराइड टेष्टलगायतका अन्य महत्वपूर्ण सेवा प्रवाह गर्ने तयारी अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।



