झापा , असार २६ । सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

सोलुखुम्बुको सुर्के हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९ एन एमभी कलसाइन रहेको हेलिकप्टर लिखुपिके गाउँपालिका-५को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको जानकारी दिए । बेनी प्रहरी चौकीबाट असईसहित २ जना दुर्घटनास्थल पुगिसकेको र जिल्लाबाट थप प्रहरी पठाइएको उनले बताए । उनले भने, ’जिल्लाबाट १२ जना नेपाल प्रहरी र ९ जना नेपाली सेनालाई पठाइएको छ । दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको छ । एकजनाको पनि शवका टुक्रा भेटिएको भन्ने छ तर पुष्टि भइसकेको छैन,’ प्रमुख जिल्ला अधिकारी भट्टराईले भने । दुर्घटनास्थलनजिकै रहेका सोलु दूधकुण्ड नगरपालिका वडा नम्बर २ का अध्यक्ष ङवाङ ठिले शेर्पाले दुर्घटनास्थलमा ५ जनाको शव भेटिएको बताए । उनले भने, ’बेनी प्रहरी चौकीले दिएको जानकारीअनुसार ५ जनाको शव भेटिएको छ । तर उनीहरूको पहिचान भइसकेको छैन ।’ एक जना भने बेपत्ता रहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्