झापा , असार २८ । वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका ११० जनालाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काएको छ ।

कार्यालयले बुधवार बेलुका वैदेशिक रोजगारीका लागि कुवेत जान लागेका नेपाली कामदारहरूलाई गन्तव्य मुलुक जान नदिएर फिर्ता पठाएको हो । उनीहरूले पेश गरेको कागजपत्र शङ्कास्पद देखिएको भन्दै अध्यागमन कार्यालयले कामदारहरूलाई प्रस्थान अनुमति नदिई फिर्ता पठाएको हो । उनीहरूलाई दिएको पत्रमा अध्यागमन ऐन २०४९, अध्यागमन नियमावली २०५१ तथा अध्यागमन कार्यविधि २०६५ अनुसार पेस गरेको यात्रासँग सम्बन्धित कागजातहरू शङ्कास्पद देखिएको हुँदा प्रस्थान अनुमति नदिइएको उल्लेख गरिएको छ ।

सलम एयरको उडानबाट मस्कट हुँदै कुवेत प्रस्थानका लागि अनुमति माग गरेकोमा निर्धारित बोर्डिङ समयभन्दा ढिला गरी आइपुगेकोले पनि प्रस्थान अनुमति नदिइएको अध्यागमनले जनाएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले सम्पूणर् प्रक्रिया पुरा गरेर जान लागेकाहरूलाई रोकेको बताए । ‘सम्पूणर् प्रक्रिया पुरा गरेर जान लागेका थिए । सम्बन्धित देशले सम्बन्धित एयरलायसन्सलाई उडानका लागि ठिक छ भनेर पत्र समेत दिइएको अवस्था छ । यति गर्दा पनि अध्यागमनका केही कर्मचारीहरूले नियोजित रूपमा मान्छे फर्काएका हुन्,’ अध्यक्ष भण्डारीले भने । टिकट, भिसा, श्रम स्वीकृति सबै कागजात पेस गर्दा पनि उनीहरूलाई फर्काइएको उनले बताए । अध्यागमन कार्यालयले पछिल्लो समय निकै ज्यादतीपूणर् कार्य गर्दै आएको उनको भनाइ छ ।

विभिन्न मेनपावर कम्पनीबाट जान लागेकाहरूलाई फर्काइएको हो । ‘कागजात शङ्कास्पद’ भएको अनुमानकै भरमा खादा/माला लगाएर वैदेशिक रोजगारमा उड्न तयार भएकमाहरूलाई फर्काइनु स्वाभाविक नभएको उनको भनाइ छ । अध्यागमन कार्यालयका सूचना अधिकारी झंकनाथ ढकालले उनीहरूले पेस गरेका कागजात शङ्कास्पद देखिएकाले रोकिएको बताए । ‘उनीहरूको भिसा, दूतावासको चिठ्ठीहरू लगायतका आवश्यक कागजात शङ्कास्पद देखियो । यो विषयमा अध्यागमन विभागबाट पनि निर्देशन आयो । उनीहरूले पेस गरेका कागजात थप अध्ययन गर्नुपर्ने देखियो । कतिपय भिसाहरू नै छानबिन गर्नुपर्ने देखियो । कार्यविधि मापदण्ड अनुसार नदेखिएपछि रोकिएको हो’ ढकालले भने ।

उनीहरूले पेस गरेका कागजातहरूका विषयमा थप अध्ययन गर्नुपर्ने उनको भनाइ छ । ‘कागजात शङ्कास्पद देखिएपछि रोकियो । ती कागजातको आधिकारिकताबारे सम्बन्धित निकायबाट भेरिफाई भएपछि उहाँहरू जान पाउनुहुन्छ,’ सूचना अधिकारी ढकालले भने । यसअघि केही दिन अगाडि जोर्डन जान लागेका १५ जना श्रमिकलाई समेत अध्यागमनले रोकेको थियो । उनीहरूले पेस गरेको वर्किङ भिसा शङ्कास्पद देखिएको भन्दै अध्यागमनले रोक लगाएको थियो । तर, पछि उनीहरूले पेस गरेका कागजातमा कुनै कमजोरी नभएपछि अध्यागमनले जान पाउने बताएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्