बिर्तामोड,असार ३० । बिर्तामोड नगरपालिकाले वडा नं ५ को सचिवको रुपमा नगरपालिकाका कर्मचारी हेम गौतमलाई पठाउने भएको छ ।

उनी नगरपालिकाको योजना शाखामा कार्यरत पाँचौ तहका कर्मचारी हुन् । हिजो साँझ भएको छलफलमा नगरपालिकाका कर्मचारी गौतमलाई वडा नं ५ मा पठाउने निर्णय भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलचन भण्डारीले बताए । गौतम वडा नं ५ मा जान मन्जुर भएको उनले बताए ।

पहिलाका सचिव बिमल पोखरेललाई कार्वाही गरेपछि बिर्तामोड नगरपालिकाका १० वटै वडाका वडा सचिवहरुले ५ नं. वडामा हाजिर भई कामकाज गर्न नसक्ने चेतावनी दिएका थिए । त्यसपछि नगरपालिकाले आफ्नै कार्यालयभित्रकै कर्मचारीलाई खटाउने निर्णय गरेको हो । भोलि आइतवारदेखि गौतम ५ न. वडा कार्यालयमा हाजिर हुने भएका छन् । यसअघिका सचिव पोखरेललाई नगरपालिकामा बोलाइने भएको भण्डारीले जानकारी दिए ।

उनलाई बिर्तामोड नगरपालिकाको कार्यपालिका बैठकले स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले वडा सचिव पोखरेल निर्धारित समयमा कार्यालयमा उपस्थित नहुने, कार्यालयमा पटकपटक ढिलो आउने, चाँडो जाने तथा कार्यालय समयमा कार्यालयको कामबाहेक स्वीकृति नलिई कार्यालय छोड्ने जस्ता विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । वडा सचिवले समयको पालना नगरेर वडाको दैनिक प्रशासनिक काम कार्वाहीमा असर परेको भन्दै वडाध्यक्ष रोहित प्रसाईले गत मंगलबारदेखि नगरपालिकाको कार्यालय अगाडी टेवल कुर्सी राखेर धर्ना सुरु गरेका थिए ।वडाध्यक्ष प्रसाईले धर्नाको कार्यक्रम स्थगित गरी शुक्रवारदेखि वडा कार्यालयबाटै सेवा सुचारु गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्