बिर्तामोड, असार ३० । बिर्तामोडको रिङरोडको रुपमा रहेको हर्कलाल मार्गको निर्माणमा जनप्रतिनिधिहरुले बेवास्ता गर्दा आवतजावतमा समस्या भएपछि स्थानीयहरुले विराधस्वरुप धान रोपेका छन् ।

बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित हर्कलाल मार्गको भक्तबारी चोकमा स्थानीयले आज बिहान धान रोपेका हुन् । जनप्रतिनिधिलाई पटक–पटक पुरुवाका लागि जानकारी गराउँदा समेत वास्ता नगरेको र बर्षात शुरु भएसँगै बाटोमा आवतजावत गर्न समस्या भएकाले बिरोधस्वरुप बीच बाटोमा धान रोपिएको स्थानीयले बताएका छन् । सो बाटोमा पुरुवाका लागि पटक–पटक बिर्तामोड–४ का वडाध्यक्ष राहुलकुमार शर्मालाई मौखिक तथा लिखित जानकारी गराउनुका साथै नगरप्रमुख पबित्रा महतारा प्रसाई र उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई मौखिक जानकारी गराउँदा समेत उनीहरुले चासो नदिएको स्थानीय गोपी अधिकारीले बताए ।

हर्कलाल मार्गमा बजेट परेको र अब निर्माण हुने हल्ला पटकपटक चलाइएपनि त्यस सडक बजेट अभावमा जीर्ण भइसकेको छ । त्यस महत्वपूर्ण सडकमा आवतजावत गर्न कष्ट व्यहोर्नुपर्ने अबस्था छ । झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा त्यस सडकका लागि ५० लाख रुपैयाँ विनियोजन गराएका छन् । जुन बजेट हात्तीको मुखमा जिराजस्तै हुने भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्