बिर्तामोड , असार ३० । रिङरोडको रुपमा खनिएको बिर्तामोडको हर्कलाल मार्ग ३० वर्षमा पनि कालोपत्रे हुन सकेको छैन । बिर्तामोडको गल्ली–गल्लीमा कालोपत्रे हुँदा समेत हर्कलाल मार्ग नबनिनुको कारण राजनीतिक पूर्वाग्रह र बेवास्ता नै भएको स्थानीय उपभोक्ताहरुको बुझाई छ ।


२०५१ सालमा तत्कालीन अनारमनी गाविसको अध्यक्ष हुँदा हर्कलाल गिरीले एकसाथ चारवटा बाटो खन्न लगाए । शहरी विकास कार्यालयबाट बिर्तामोड नगरपालिकाको स्वीकृति लिनका लागि बाटोको सुविधा हुनुपर्ने भनिएको थियो । उनले कृषि सामग्री संस्थानको कार्यालयदेखि राजमार्ग दक्षिण गरामनी जाने सडकसम्म र राजमार्ग उत्तरतर्फ अर्जुनधारा जोड्नेगरी करिव ४ किलोमिटर बाटो खन्न लगाए । जसको नामकरण उनले आफ्नै नामबाट राखे –हर्कलाल मार्ग । त्यस्तै पंचकन्यादेखि दक्षिणको बाटो , बुट्टाबारीदेखि दक्षिण जाने बाटो पनि उनैले खन्न लगाए । नगरोन्मूख अनारमनी गाविसबाट शहरीकरणतर्फ अगाडि बढिरहेको बिर्तामोडलाई रिङरोड चाहिने भनेर सो बाटो खनिएको हो । जिउँदो व्यक्तिको नामबाट नामकरण गरेर गलत गरिएको भन्दै एकताका नेकपा माओवादी केन्द्रले त्यस हर्कलाल मार्गको नाम परिवर्तन गरी शहीद राम मार्ग राख्यो ।तर, चलनचल्तीमा त्यही हर्कलाल मार्ग नै चलिरह्यो ।
रिङरोडको लागि अति उपयोगी भएर पनि जनप्रतिनिधि र राजनीतिक दलको प्राथमिकतामा सो सडक पर्न सकेको छैन । बर्खायाममा त कष्ट छँदैछ, हिउँदमा समेत असहज रुपमा आवतजावत भइरहँदा समेत यात्रुको समस्याप्रति उनीहरुको ध्यान पुग्न सकेन ।

२०७३ सालमा तत्कालीन जिल्ला प्राविधिक कार्यालय झापाले आठ करोड रुपैयाँको विस्तृत गुरु योजना (डीपीआर) तयार गरी हर्कलाल मार्गको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने तयारी गरेको थियो ।
ग्रामीण कृषि सडकको मापदण्डमा ‘र्याप थ्री’ अन्तर्गत सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने योजना स्वीकृत भएको थियो । स्थानीय तहको पहिलो निर्वाचनपछि सो सडक २०७५ असारमा दी कञ्चनजंघा कन्स्ट्रक्सनले निर्माण गर्ने गरी ठेक्का लिएको थियो । ग्रामीण कृषि सडक ‘र्याप थ्री’को मापदण्डमा ठेक्का लगाएपछि स्थानीयले सडक फराकिलो बनाउनुपर्ने माग राखेका थिए । भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले सडक निर्माणको प्रक्रिया अघि बढाए पनि स्थानीयले सडक फराकिलो बनाउनु पर्ने माग राखेपछि सडक निर्माण कार्य रोकिएको थियो ।

निर्माण व्यवसायीको ढिलासुस्ती र नियमनकारी निकाय भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीले सडक निर्माणका विषयमा चासो नदेखाउँदा सो सडक बन्न नसकेको माओवादी केन्द्रका नेता सी.पी कडरियाले बताए । सडकको स्तरोन्नति गर्दै कालोपत्रे गर्न पहिलो वर्ष एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यस्तै दोस्रो वर्ष एक करोड रुपैयाँ र तेस्रो वर्ष ५० लाख रुपैयाँ बजेट विनियोजन भए पनि निर्माण व्यवसायीले समयमा काम नगर्दा सो रकम फ्रिज भएको अनुगमन समितिका उपाध्यक्षसमेत रहेका कडरियाले बताए ।निर्माण व्यवसायी र भौतिक पूर्वाधार कार्यालय चन्द्रगढीको लापरवाहीका कारण झण्डै साढे तीन किलोमिटर सडक कालोपत्रे गर्न प्राप्त बजेट फ्रिज भएको उनले बताए ।

यसैबीच, झापा क्षेत्र नं २ का संघीय सांसदसमेत रहेका सभामुख देवराज घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा ५० लाख रुपैयाँ छुट्याउन लगाएका छन् । जुन बजेटले जीर्ण भइसकेको हर्कलाल मार्ग बनिने अबस्था छैन । पूर्व जनप्रतिनिधि गिरीले सो बाटो खनेर आफूलाई पछुताउ लागेको प्रतिक्रिया दिएका छन् । ‘कांग्रेसले गरेको कम्युनिष्टलाई मन पर्दैन, कम्युनिष्टले गरेको कांग्रेसलाई मन पर्दैन’उनले भने, ‘ यस्तै राजनीतिक पूर्वाग्रहकै कारण हर्कलाल मार्ग बन्न सकेन ।’ हर्कलाल मार्गप्रति बिर्तामोड नगरपालिका समेत उदासीन देखिएको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्