झापा, असार ३० । झापामा खोलामा डुबेर दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एक बालक र अर्का बृद्ध रहेका छन् । गौरादह नगरपालिका वडा नंं २ हाँसखोरा टोल निवासी १३ वर्षिय एन्जल ताजपुरियाको पौडी खेल्ने क्रममा खोलामा डुबेर मृत्यु भएको छ ।

बालक एन्जलको स्थानीय कृष्णे खोलामा पौडी खेल्नक्रममा शनिवार डुबेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ । गोविन्द ताजपुरियाका छोरा एन्जल ज्ञानज्योति माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत थिए । पौडी खेल्दाखेल्दै एन्जल बेपत्ता भएपछि उनीसंगै गएका अन्य ४ जना साथीहरु आत्तिदै नजिकैको गाउँतिर खबर गर्न गएका थिए । मृतक बालकको शव पोस्टमार्टमका लागि दमक लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै झापाको शिवसताक्षी १० स्थित कनकाई नदीमा एक पुरुषको शव फेला परेको छ ।
कनकाई पुलदेखि करिब ७ सय मिटर दक्षिण पानीमा घोप्टो परेको अवस्थामा एक पुरुषको शव फेला परेको हो । साँझ ६ बजेतिर घाँस काट्न गएका महिलाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

अन्दाजी ७० वर्षको जस्तो देखिने दौरा लगाएको अवस्थामा कपाल फुलेको मंगोलियन समुदायको बृद्धको शव फेला परेको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक युवराज कट्वालले बताए । उनले पानी खाएर शव फुलेको र शरीरमा कुनै पनि चोटपटक नदेखिएको जानकारी दिए । शवलाई पोस्टमार्टमका लागि दमक पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्