झापा, साउन २ । झापाको छुट्टाछुट्टै स्थानमा दुई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीनजना आरोपीलाई पक्राउ गरेको छ ।

१५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिका-६ बुट्टावारि बस्ने १४/१४ वर्षका दुईजना किशोरलाई पनि प्रहरीले पक्राउ गरेको छ । सोही ठाउँ स्थित चिया बगानमा बोलाई ती बालिकालाई आइतबार राति दुवैजनाले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । त्यस्तै १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अर्जुनधारा नगरपालिका-१ बस्ने ५९ वर्षीय नरेश रसाइलीलाई पक्राउ गरेको छ । रसाइलीले ती बालिकालाई बुवा आमा धान रोप्न गएको अवस्थामा फकाई आफ्नै घरको कोठाभित्र लगी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाको बारेमा झापा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्