बिर्तामोड , साउन ५ । विपन्न परिवारलाई अन्त्येष्टि गर्न निःशुल्क दाउरा दिने बिर्तामोड नगरपालिका ३ नं वडा कार्यालयको राहत कार्यक्रमबाट धेरैैजना लाभान्वित भएका छन् ।

खासगरी आर्थिक अभाव भएका लक्षित समुदायका व्यक्तिहरु जो खर्चको अभावमा अन्त्येष्टि गर्न सकिरहेका हुँदैनन्, उनीहरुलाई त्यसबाट राहत पुगेको वडा सचिव भीम अधिकारीले बताए । वडा कार्यालयले आर्थिक वर्ष २०७९–०८० मा वडाभित्रका ४६ परिवारलाई अन्त्येष्टि गर्न निःशुल्क दाउरा उपलव्ध गराएको छ । त्यसका लागि २ लाख ७ हजार रुपैयाँ खर्च भएको वडा सचिव अधिकारीले बताए ।

निःशुल्क दाउराका लागि वडा कार्यालयले कन्काई घाटसंग संझौता गरेको छ । वडा कार्यालयले दिएको सिफारिसको आधारमा कन्काई घाटले दाउरा उपलव्ध गराउने गरेको छ । ‘वडा कार्यालयले कन्काई घाटसंग गरेको संझौताअनुसार घाटले दाउरा उपलव्ध गराउँछ’ वडा सचिव अधिकारीले भने,‘ हामी घाटलाई अद्र्धवार्षिक रुपमा भुक्तानी गर्छौ ।’ विगत ३ वर्षदेखि बिर्तामोड ३ नं वडा कार्यालयले विपन्न परिवारलाई अन्त्येष्टि गर्न निःशुल्क दाउरा उपलव्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्