बिर्तामोड , साउन ६ । एक्सेल डेभलेपमेन्ट बैंकले वातावरणको क्षेत्रमा काम गर्नेहरुका लागि सहुलियत ऋण सुविधा ल्याएको छ ।

शनिवार बिर्तामोडमा आयोजित बैंकको १८ औं वार्षिकोत्सवमा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. इन्द्रकुमार कट्टेलले वातावरणीय स्वच्छताका लागि प्रभावकारी हुने कृषि उत्पादन, वातावरणमैत्री उद्योगलगायत बिद्युतीय सवारीसाधनहरुको प्रवर्द्धन गर्नको लागि EDBL Green Loan   शुरुवात गरेको घोषणा गरेका हुन् । यसको ब्याजदर आधारदरमा एक प्रतिशत थप प्रिमियम दरमात्र थप हुने गरी लागु गरिएको उनले बताए ।खेती किसानी गरी जीविकोपार्जन गर्ने किसान र कार्वन उत्सर्जन कम गर्न वातावरणीय क्षेत्रमा काम गर्ने साना उद्योगीलाई लक्षित गरी सो योजना ल्याइएको उनले बताए । यो ऋण सुविधा बढीमा ३ करोडसम्मको हुनेछ । परम्परागत खेती प्रणालीमा सुधार गर्न र कार्वन उत्सर्जन कम गर्न सानो भएपनि त्यस क्षेत्रमा सहयोग पुग्ने हिसावले सो योजना ल्याइएको उनले बताए । उनले बैंकले ऋण लगानीसंगै उत्पादित वस्तुको बजार प्रवर्द्धन गर्नसमेत सहयोग गर्ने बताए ।
एक्सेल डेभलपमेन्ट वैंक वित्तीय कारोवार संचालन शुरुवात गरेको अवधि १८ बर्ष पुरा गरी आजबाट १९ बर्षमा प्रवेश गरेको हो । सञ्चालक अमितकुमार अग्रवालको अध्यक्षतामा आयोजित वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख पवित्रा महतारा प्रसाई रहेकी थिइन् । सो कार्यक्रममा बैंकका पूर्व अध्यक्ष हेमराज ढकाल र पूर्व प्रबन्ध संचालक खगेन्द्रनाथ ढुंगानालाई सम्मान गरिएको थियो । बैंकका कम्पनी सचिव श्यामबहादुर बोहोराले संचालन गरेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत डा. ईन्द्रकुमार कट्टेलले स्वागत मन्तव्यसहित बैंकका वर्तमान गतिविधिहरुका वारेमा जानकारी दिएका थिए । कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख प्रसाई , बैंकका संस्थापक शेयरधनी डा. रुपक खनाल, सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरी, नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका पूर्व अध्यक्ष रामचन्द्र उप्रेती, मारवाडी सेवा समिति बिर्तामोडका अध्यक्ष मोहन मित्तल, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय कार्यकारिणी सदस्य उमेश डालमिया, सम्मानित हुनेहरु पूर्व प्रबन्ध सञ्चालक खगेन्द्रनाथ ढुंगाना, पूर्व अध्यक्ष हेमराज ढकाललगायतले बैंकको उन्नति प्रगतिका लागि शुभकामना मन्तव्य राखेका थिए ।

बैंकले आफ्नो १८ औं वार्षिक उत्सवको अवसरमा विरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्धेश्यले हिजो बिर्तामोडमा रक्तदान कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा ५३ पिन्ट रगत संकलन गरी रेडक्रस सोसाइटी, उपशाखा विर्तामोड झापालाई प्रदान गरिएको जनाइएको छ । वार्षिकोत्सव कार्यक्रमअघि आज विहान ७.३० बजे बैंकको केन्द्रीय कार्यालय रहेको स्थान बिर्तामोडमा विभिन्न वित्तीय चेतनामूलक प्लेकार्डसहित प्रभातफेरी कार्यक्रम गरिएको थियो ।

प्रादेशिक विकास बैंकको रुपमा बिर्तामोडमा केन्द्रीय कार्यालय रहेको यस बैंकले हाल झापा, इलाम, मोरङ, सुनसरी र पॉचथरका विभिन्न ४४ स्थानमा आफ्ना शाखा कार्यालयहरुमार्फत ग्राहकहरुसमक्ष बैंकिङ सेवा प्रदान गरिरहेको छ भने उदयपुरको रामपुरमा केही दिनमा नया“ शाखा संचालनमा आउनेछ । बैंकले आफ्नो सेवा विस्तार गर्दै कोशी प्रदेश कार्यक्षेत्रभित्रका अन्य जिल्लाहरुमा समेत थप नयाँ शाखाहरु स्थापना गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्