बिर्तामोड, साउन ६ । वी.पी. कोइरालाको ४१ औं स्मृति दिवसको अवसर पारेर शनिवार झापामा बृक्षरोपण, विचार गोष्ठीलगायतका विविध कार्यक्रम सम्पन्न भएका छन् ।


नेपाली कांग्रेसका संस्थापक नेता, प्रजातान्त्रिक समाजवादी सिद्धान्तका प्रतिपादक एवं साहित्यिक क्षेत्रमा समेत विशेष योगदान दिएका वी.पी.को स्मरण नेपाली कांग्रेस एवं आबद्ध भ्रातृ तथा शुभेच्छुक संघसंस्थाहरुले गरेका हुन् । वि.सं १९७१ भदौ २४ गते जन्मेका वीपीको २०३९ साल साउन ६ गते क्यान्सर रोगका कारण निधन भएको थियो ।

यसै दिवसको अवसर पारेर झापाको बिर्तामोडमा नेपाल विद्यार्थी संघले विचार गोष्ठी सम्पन्न गरेको छ ।
विचार गोष्ठीका प्रमुख अतिथि संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले तत्कालीन अवस्थामा पूर्ण प्रजातन्त्र भएको मुलुक अमेरिका र कम्युनिष्ट शासन ब्यवस्था भएको रुस दुबैको पक्षमा सिधै समर्थन नगर्ने नीति अख्तियार गर्दै भारतसहितका थुप्रै देशहरुको सहभागितामा प्रजातान्त्रिक समाजवादको नीति प्रतिपादन भएको र त्यसमा वी.पी. कोइरालाको मुख्य भूमिका रहेको चर्चा गरे ।

वीपीसँगको भेट र सान्निध्यबारे चर्चा गर्दै सि. के. प्रसाईले बनाएको सुशील– विश्व निकेतन बिर्तामोडमा बस्दा तीन दिन आफू वीपीको स्वकीय सचिवजस्तै भएर बसेको र त्यसबेला वीपीबारे धेरै बुझ्ने मौका पाएको स्मरण गरे । वीपीको स्मरण शक्ति तीक्ष्ण रहेको एवं वीपीले सिकेलाई अत्यन्तै बिश्वास गरेको उल्लेख गर्दै नेता शिवाकोटीले आफूले तत्कालीन शासकहरुसँग डराएर बन्द समाजभित्र संगठन गर्दाका समस्या सुनाएका थिए ।
२०८४ को चुनाबपछि स्वाभाविक रुपमा युवा पुस्ताको पालो आउने बताउँदै उनले राजनीतिमा लाग्ने युवाहरूलाई निष्ठा, त्याग, समर्पण र विचारप्रति प्रतिबद्ध रहन आग्रह गरे ।
कार्यक्रमका विशेष अतिथि जिल्ला उपसभापति केशबराज पाण्डेले निष्ठा, त्याग, समर्पण, सादगी जीवन ब्यतित गर्ने ब्यक्ति बीपीको सच्चा अनुयायी हुने बताउँदै अहिले शान, सौकत, आलिशान भवन, गाडी, २०–२५ जना अघिपछि लाग्ने कार्यकर्ता खोजेर वीपीको अनुयायी हुन नसकिने धारणा राखे । विचार, दृष्टिकोण, परिष्कृत समाज स्थापनाका लागि वीपीको विचारले सबैलाई एकै ठाउँमा उभ्याएको चर्चा गर्दै उनले वीपीको अनुयायी हुन जीवनशैली परिवर्तन जरुरी रहेको धारणा पनि राखे ।
कार्यक्रमका विशेष अतिथि नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जनताका प्रतिनिधिले शासन गर्ने ब्यवस्था स्थापनाका लागि कांग्रेसले तत्कालीन शासकहरुसँग युद्धको नियम पूरा गरेर मात्रै सशस्त्र बिद्रोह गरेको उल्लेख गर्दै कांग्रेसले कहिल्यै ब्यक्तिहत्या नगरेको दावी गरे ।
कार्यक्रममा क्षेत्रीय सभापति खगेन्द्र मैनाली, नेपाल तरुण दलका केन्द्रीय सदस्य राजेन्द्र उप्रेतीलगायतले मन्तब्य राखेका थिए । नेविसंघ झापा सभापति सञ्जय निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत जितेन साम्पाङ एवं सञ्चालन गोकुल पौडेल र एलेक्स मैनालीले गरेका थिए ।

वीपी स्मृति दिवसकै अवसर पारेर झापाको भद्रपुर–९ स्थित वीपीको शालिकमा माल्यार्पण एवं प्रजातान्त्रिक समाजवादबारे चर्चा गरिएको छ ।
नेपाली कांग्रेस भद्रपुर नगर समितिको आयोजनामा सम्पन्न कार्यक्रम संविधानसभा सदस्य शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । नगर सभापति राम कँडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा भुमा घिमिरेले स्वागत गरेकी थिइन् भने केशवराज पाण्डेलगायतले मन्तब्य राखेका थिए ।
यसैगरी झापाको अर्जुनधारा नगरपालिका वडा नं–४ मा ‘वीपीको प्रजातान्त्रिक समाजवाद र आजको राजनीतिक कार्यदिशा’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सचिव कृष्ण हुमागाँई, महाधिवेशन प्रतिनिधि भुमा घिमिरेलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पार्टीका वडा सभापति खेम काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत सन्तोष न्यौपाने र सञ्चालन सुनिल वि.कले गरेका थिए ।
यसैगरी नेपाली कांग्रेस बुद्धशान्ति गाउँसमितिको आयोजनामा वीपी स्मृति दिवसकै सन्दर्भ पारेर बृक्षरोपण एवं विचार गोष्ठी सम्पन्न भएको छ ।
नेपाली कांग्रेस २ नम्बर क्षेत्रीय सभापति खगेन्द्र मैनालीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य लीला ढकाल, क्षेत्रीय सदस्य देवी सुवेदी, महिला संघ सभापति गायत्रा भट्टराई, प्रकाश शेर्मालगायतले मन्तब्य राखेका थिए ।
चक्र शेर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मनिस दाहाल र सञ्चालन कृष्ण खतिवडाले गरेका थिए ।

यसैगरी नेपाली कांग्रेस दमक नगर समितिले रक्तदान र बृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ भने नेपाल विद्यार्थी संघ दमक नगर समितिले दमकको गणतन्त्र चोकमा दीप प्रज्वलन गरेको छ ।
बीपी अध्ययन प्रतिष्ठान गौरादह र नेपाली कांग्रेस गौरादहको संयुक्त आयोजनामा गौरादहमा विचार गोष्ठी सम्पन्न भएको छ भने सबै वडाहरुमा बृक्षरोपण गरिएको बताइएको छ ।
नेपाली कांग्रेस कमल गाउँसमितिले वीपी स्मृति दिवसको अवसरमा वृक्षरोपण गरेको छ । यता मेचीनगर समितिले धुलाबारीमा बृक्षरोपण सम्पन्न गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्