द्रोण अधिकारी,

भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारीमा २५ वर्षयता माटाको मूर्ति बनाएर जीवन गुजारा गर्दै आएका कलाकार विष्णु राजवंशीलाई पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ ।


राजवंशीले आफूले जानेको मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन तर पनि, आफ्नो व्यवसायमा अतिक्रमण बढेकै कारण निर्मित मूर्ति नबिक्दा उनले आर्थिक संकटको सामना गर्नु परिरहेको हो ।
अभिषेक मूर्ति उद्योगको नाममा बैधानिक रूपमा सञ्चालनमा रहेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी अतिक्रमण गरिरहेको छ । अवैध रूमा भारतबाट आउने मूर्ति नरोक्ने हो भने आफूजस्ता नेपाली माटोमा गरिखानेहरूले भोकै मर्नु पर्ने दिन आइसकेको उनी दुखेसो पोख्छन् ।
मूर्ति उत्पादनमा चर्चित उनको उद्योगले मेचीदेखि महाकालीसम्म पहिचान बनाएको थियो । अहिले सम्झँदा उनलाई आफ्नो व्यवसाय बनावटी कथाजस्तो लाग्न थालेको छ ।

पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जोगाउन कला संस्कृति संरक्षणमा जुटेका राजवंशी, हिन्दु परम्पराका विशेषगरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्मा पूजा, देवी पूजाका लागि मूर्ति निर्माणमा सक्रिय रहने गरेका छन् । राजवंशी विभिन्न जातीय संस्कार संस्कृतिको झलक दिने मूर्ति बनाउन व्यस्त रहने गर्दछन् । उनी पिताको पेशालाई निरन्तरता दिने दोस्रो पुस्ताका मूर्तिकार हुन् । उनको मूर्तिकला हिन्दु पर्वहरुमा बढी खपत हुने हँुदा परिवार पाल्ने पेशा बनेको थियो । दुई जना छोराछोरीलाई स्तरीय शिक्षा दिने, घरपरिवार धान्ने राजवंशी परिवारको आधार मूर्तिकला नै हो ।

माटोसंगै खेलेर पाँच जनाको परिवार पाल्दै आएका राजवंशी जीवनलाई मूर्तिसंगै साट्दै भगवान शिव, पार्वती काली ,सरस्वती , विश्वकर्मा, लक्ष्मी, भगवतीलगायतका विभिन्न देवी देवताका अतिरिक्त अन्य जुनसुकै प्रकारका मूर्ति बनाउन खप्पिस छन् । मूर्तिबाटै घरपरिवार चलाउनुका साथै सामाजिक सेवामा समेत सहयोग गर्न पछि नपर्ने राजवंशी सामाजिक अगुवा पनि हुन् । उनले भद्रपुर नगरपालिकालाई भ्रष्टाचार शून्य नगरका रूपमा विकास गर्न स्थानीय विकास निर्माणमा कमिशनविहीन अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्