झापा,साउन ७ । मेचीनगर– १ कृष्णथुम्की मन्दिरनजिकै निजी जग्गामा रहेको सालको रुख अवैधानिक रुपले काटिएको खुलेको छ ।

हिजो राति सशस्त्र प्रहरीले बरामद गरेको सालको काठ टीकाराम कँडेलको जग्गाको भएको खुलेको हो । व्यक्तिगत वा सरकारी होस् साल जातको काठ वन कार्यालयको अनुमति बेगर काट्न पाइँदैन। कँडेलको जग्गामा रहेको सालको रुख रातारात फडानी गरिएको हो । बन फडानी गरी काठ लाँदै गर्दा सशस्त्र प्रहरीले ठुलो परिमाणमा सालको गोलिया बरामद गरेको थियो ।

कृष्णथुम्की सामुदायिक बनको नभई ती काठ टीकाराम कँडेलको जग्गाको भएको कुरा खुलेको पूर्व जनप्रतिनिधि निलकण्ठ तिवारीले बताए । त्यसबारे सर्जमिन गर्न बाँकी रहेको डिभिजन बन कार्यालय झापाकी सूचना अधिकारी अन्जना पुरीले बताइन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका एसपी देवराज अर्याल नेतृत्वको टोलीले शुक्रवार राति बरामद गरेको सालको काठ अन्दाजी ५ सय क्युफिट भएको दावी गरिएपनि सो काठ मात्र २९६.७७ क्युफिट ठहरिएको छ । डिभिजन बन कार्यालयको टोलीले आज गरेको नापजाँचमा १०६ थान गोलियामा २९६.७७ क्युफिट काठ ठहर भएको सूचना अधिकारी पुरीले जानकारी दिइन् । काठसंगै मे १ त ७२०० र मे १ त ५३४५ नं को ट्रयाक्टर फेला परेको थियो । ती ट्रयाक्टर संलग्नताको विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्