दमक, साउन ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा आइतवारबाट सुरु प्रदेशस्तरीय फुटसल प्रतियोगिताको उद्घाटन खेलमा दमक बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।


छिमेकी क्याम्पस आस्था कलेजलाई ७–१ गोल अन्तरले हराउँदै दमक बहुमुखी क्याम्पस अघिल्लो चरणमा प्रवेश गरेको हो । खेल अवधिभर दमक बहुमुखीले आस्थालाई दबाबमा राखेको थियो ।
त्यस्तै, आइतवार नै भएको दोस्रो खेलमा मोडल क्याम्पस दमकले युनिक कलेज दमकलाई ६–३ गोल अन्तरले हरायो । तेस्रो खेलमा महेन्द्र मोरङ बहुमुखी क्याम्पसलाई पथरी क्याम्पसले ४–१ गोल अन्तरले हरायो । पथरीबाट खेलेका खेलाडी सो क्याम्पसको नभएको भन्दै महेन्द्र मोरङका खेलाडीले विरोधपत्र दर्ता गराएका छन् ।

चौथो खेल शनिश्चरे बहुमुखी क्याम्पस अर्जुनधारा र महेन्द्र बहुमुखी क्याम्पस धरानबीच हुने भएपनि शनिश्चरे नआएपछि महेन्द्र विजयी घोषित भयो । आइतवारको पाँचौ तथा खेलमा गौरादह कृषि क्याम्पसलाई दमक बहुमुखी क्याम्पस ‘बि’ ले ६–२ गोल अन्तरले हरायो ।
आयोजक स्ववियु सभापति सोविन न्यौपानेका अनुसार प्रतियोगितामा झापा, मोरङ, सुनसरी र इलामका त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त २१ वटा क्याम्पसले प्रतिस्पर्धा गर्दैछन् । दमक–९ को रणभूमि फुटसल कोर्टमा जारी प्रतियोगिताको फाइनल खेल साउन १० गते हुनेछ ।
प्रतियोगिताको विजेता टिमले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै, विधागत पुरस्कारको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसैबीच मैत्रीपूर्ण फुटसल खेलमा पत्रकारहरुको टिम विजयी भएको छ ।
दमक–९ को रणभूमि फुटसल कोर्टमा आइतवार भएको खेलमा पत्रकारको समूहले दमक बहुमुखी क्याम्पसका शिक्षकहरुलाई हराउँदै विजयी भएको हो । पत्रकारले शिक्षकलाई ५–२ गोल अन्तरले हराए । पत्रकार टिमको तर्फबाट कविध्वज राई र वीरेन्द्र लिम्बूले समान २–२ गोल तथा सजन राईले एक गोल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्