झापा, साउन ७ । प्रेस सेन्टर नेपाल झापाले देवकुमार आचार्यको स्मृतिमा स्थापना गरेको डी. कौडिन्य स्मृति पत्रकारिता पुरस्कार पत्रकार दीपक अधिकारीलाई प्रदान गरेको छ ।

बिर्तामोडमा एक समारोहका बीच कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मन्त्री राजेन्द्र कार्की र डी.कौडिन्यकी छोरी तृष्णा आचार्यले पत्रकार अधिकारीलाई नगदसहित पुरस्कृत गरेका हुन् । नौलो आवाज साप्ताहिकका प्रकाशक तथा सम्पादक रहेका अधिकारीलाई नगद २१ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो । सेन्टर झापा अध्यक्ष राजु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा देवकुमार आचार्यको चर्चा प्रेस सेन्टरका केन्द्रीय सचिव विमल लामिछानेले गरेका थिए । कार्यक्रममा पुरस्कृत पत्रकार अधिकारीको चर्चा सेन्टरका निवर्तमान अध्यक्ष झुलन रेग्मीले गरेका थिए ।

कार्यक्रममा प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष विवेक गौतम, सेन्टरका कोशी प्रदेश अध्यक्ष विनोद घिमिरे, माओवादी केन्द्रकी केन्द्रीय सदस्य लक्ष्मी न्यौपाने, कोशी प्रदेश उपाध्यक्ष मणिकुमार साम्पाङ (विजय), पार्टीका झापा सह–इन्चार्ज सिपी कडरिया, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, झापाका विभिन्न पत्रकारजन्य संघ÷संगठनका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।स्वागत मन्तव्य उपाध्यक्ष होमप्रकाश अधिकारीले राखेको कार्यक्रमको सञ्चालन सचिव पुष्प खड्काले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्