झापा ,साउन ९ । झापाको बिर्तामोडमा डेंगी रोगको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

यस वर्ष पहिलोपटक जिल्लामा डेंगी संक्रमणबाट मृत्यु भएको हो ।बिर्तामोड– ५ बस्ने ४४ वर्षिया मदिना खातुनको डेंगी संक्रमणबाट मृत्यु भएको हो । डेंगी पुष्टि भएको भोलिपल्ट उनको मृत्यु भएको परिवारले जनाएको छ ।

ज्वरो आउने , हातखुट्टा दुख्नेजस्ता समस्या भएपछि उनलाई बुधवार बालाजी फर्मामा परीक्षण गरिएको थियो । चिकित्सकले डेंगी भएको र औषधि खाँदै आराम गर्नु भन्ने सल्लाह दिएपछि घरमा ल्याएर राखिएकोमा बिहीवार बिहान ६.३० बजे मृत्यु भएको मृतकका छोरा मिराज आलमले जानकारी दिए । त्यस विषयमा बिर्तामोड नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी प्राप्त नभएको बताएको छ ।बिर्तामोड नगरपालिकामा साउन महिनामा मात्र १४ जनालाई डेंगीको संक्रमण देखिएको छ । बीएण्डसी हस्पिटलमा २ , मनमोहन हस्पिटलमा ८ , बिर्तासिटी हस्पिटलमा २ र कन्काई हस्पिटलमा २ जनालाई डेंगी संक्रमण पुष्टि भएको हो । त्यस्तै असारको अन्तिम साता बीएण्डसी हस्पिटलमा ५ जनालाई डेंगी पुष्टि भएको थियो । यस वर्ष बिर्तामोडमा २५ जनालाई डेंगी संक्रमण देखिएको बिर्तामोड नगरपालिकाका सिनियर अहेव दीपक सापकोटाले बताए ।

गर्मी र वर्षा मौसममा झापामा डेंगी रोगको संक्रमण बढ्दै गएको हो ।स्वास्थ्य कार्यालय झापाका अनुसार विगत पाँच दिनमा १२ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । साउन १ देखि ५ गतेसम्म ४ महिला र ८ पुरुषमा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका बरिष्ठ तथ्यांक अधिकृत चुडामणि लुइटेलले बताए । संक्रमितमध्ये ६ जना अस्पताल भर्ना भएको उनले जानकारी दिए । डेंगी संक्रमणबाट गत असोजमा दुईजनाको मृत्यु भएको थियो । स्वास्थ्य कार्यालय झापाका परिवार नियोजन अधिकृत भद्रपुर ७ सरस्वती टोल निवासी ५७ वर्षिय शशिकुमार भट्टराईको डेंगी संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बिर्तामोड – ३ निवासी एक महिलाको बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । काठमाडौंको सरस्वती क्याम्पसको लाइब्रेरी शाखामा कार्यरत ५२ वर्षीया निशा छेत्रीको डेंगीबाट मृत्यु भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्