झापा, साउन १० । गिरीबन्धु टि इस्टेटमा कार्यरत श्रमिकहरुले पारिवारिक समस्यालाई लिएर अनर्गल प्रचारवाजी गरी उत्तेजित पार्ने कार्य नगर्न चेतावनी दिएका छन् । कुनै पारिवारिक समस्या भएर बसेर समाधान खोज्न उनीहरुले आव्हानसमेत गरेका छन् ।

प्रेमकुमार गिरी र कृष्णकुमार गिरीले गरिरहेको प्रचारवाजीप्रति आफूहरुको ध्यानाकर्षण भएको जनाउँदै नेपाल कृषि तथा बगानक्षेत्र श्रमिक संघ प्रतिष्ठानस्तरको ट्रेड युनियन गिरीबन्धु टि इस्टेटका अध्यक्ष नारायण दर्जीले बुधवार एक प्रेस विज्ञप्ति जारी गरेका छन् ।

गिरीबन्धु टि इस्टेट प्रा.लि.को शेयरधनी नभएका कृष्णकुमार गिरी र प्रेमकुमार गिरीले प्रकाशित गरेको प्रेस विज्ञप्तिले यस टि इस्टेटमा काम गर्ने तमाम श्रमिकहरुको हकहितलाई ध्यान दिनुको साटो मुद्धाको विषय उठान गरी आफूहरुको समस्या ओझेल मात्र पार्न खोजेको भन्दै यस्ता अनर्गल प्रचारवाजीले उद्योगको नामबाट गरिएका काम व्यवहारलाई प्रभाव पार्ने भएकाले त्यस्ता भ्रमको पछि नलाग्न श्रमिक र सर्वसाधारणलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ,‘ हाम्रो जानकारी अनुसार यस गिरीबन्धु टि ईस्टेट प्रा.लि.का सञ्चालकहरु मध्ये विज्ञप्तिमा हस्ताक्षर गर्नुहुने निज व्यक्ति पनि शेयर होल्डरहरु नै थिए तर, २०४० तिर गिरीबन्धु टि इस्टेटबाट शेयरवापत प्रेमकुमार गिरी र कृष्णकुमार गिरीले राजमार्ग उत्तर पूर्वतर्फबाट ज.वि. १ं०२–०–० जग्गा अर्को चिया उद्योग खोली नामसारी गरिलाने शर्तमा निजहरुले गिरीबन्धु टि इस्टेटको शेयर हक छोडेको साँचो हो । उक्त मितिबाट निजहरुले पाएको ज.वि. १०२–०–० जग्गा र श्रमिकसमेत भाग लगाई जिम्मा लिई सो जग्गामा निजहरुले न्यू गिरी एण्ड सन्स् टि इस्टेट आजसम्म अनवरत रुपमा भोग गरी आएको सर्वसाधारणलाई जानकारी गराइन्छ ।’ त्यसबेला प्रेमकुमार गिरी र कृष्णकुमार गिरीले जग्गासंगै बगानमा कार्यरत श्रमिकहरुलाई समेत आफ्नो भागमा लिएर गएको स्मरण गराउँदै त्यो समयमा गिरीबन्धु टि इस्टेटबाट १०२ बिगाह बराबर भागमा लिएर गएका श्रमिकहरुको अवस्थाका बारेमा उनीहरुले खोजीनीति नगरेको दावी गरिएको छ ।

छत्रबहादुर गिरी भन्ने व्यक्ति गिरीबन्धु टि इस्टेट प्रा.लि.को हालको अवैध र गैरकानूनी सञ्चालक हो भन्ने झुटो प्रचारले गिरीबन्धु टि इस्टेटमा कार्यरत श्रमिकहरु उत्तेजित बन्न सक्ने भएकाले कारणवस कुनै प्रकारका घटना हुन गएमा श्रमिकहरुको दायित्व वा जिम्मेवारी लिनुपर्ने चेतावनी दिइएको छ । गिरीबन्धु टि इस्टेटमा १७० जना श्रमिक कार्यरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्