एजेन्सी । अभिनेता सनी देओल अभिनीत फिल्म ‘गदर २’ को ट्रेलर सार्वजनिक भएको छ ।

११ अगस्टबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको ३ मिनेट २ सेकेन्डको ट्रेलरमा फिल्मका मुख्य झलक समेत समेटिएको छ । ‘गदर २’लाई अनिल शर्माले निर्देशन गरेका हुन् । सन् २००१ को सुपरहिट बलिउड फिल्म ‘गदर’को सिक्वेलको रूपमा यो फिल्म निर्माण भएको छ । ‘गदर’ पहिलो शृङ्खला तारा सिंह र सकिनाको वरिपरि घुमेको थियो । सिक्वेलको कथा भने उनीहरूको छोरामा केन्द्रित रहेको ट्रेलरबाट अनुमान गर्न सकिन्छ । ट्रेलरमा बुबा र छोराको सम्बन्धलाई देखाउन खोजिएको छ । ट्रेलरलाई भारतीय सेनामा भर्ती भएर पाकिस्तानी सेनाको कब्जामा परेको छोरालाई बचाउन तारा सिंहले गर्ने सङ्घर्षलाई देखाइएको छ । पहिलो शृङ्खला तारा सिंहले पाकिस्तानमा पुगेर श्रीमती सकिनालाई फिर्ता ल्याउन गरेको सङ्घर्षमा आधारित थियो ।

पहिलो शृङ्खलामा मेयर अशरफ अलीको भूमिका निर्वाह गरेका अमरीश पुरीको निधन भएको कारण यो फिल्ममा मनीष वाधवा र रोहित चौधरीले भिलेनको भूमिकामा निभाएका छन् । तारा सिंहको भूमिकामा सनी देओल र सकिनाको भूमिकामा अमीषा पटेल छन् । उनीहरूको छोराको भूमिका उत्कर्ष शर्मा छन् । ‘गदर’मा उनले बालकलाकारको रूपमा अभिनय गरेका थिए । २००१ मा आमिर खान अभिनीत फिल्म ‘लगान’सँग बक्स अफिसमा भिडन्तका बाबजुद ‘गदर’ले त्यसबेला विश्वभर १ सय ३२ करोड ६० लाख कमाएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्