एजेन्सी । फेसबुक र इन्स्टाग्रामको अभिभावक कम्पनी मेटाको रियालिटी ल्याब युनिटले ठुलो घाटा बेहोरेको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको सन् २०२३ को त्रैमासिक आम्दानी रिपोर्टले यस्तो देखाएको हो । मेटाको रियालिटी ल्याब युनिटले मेटाभर्सका लागि भर्चुअल रियालिटी र अग्मेन्टेड रियालिटी टेक्नोलोजी (एआर/भीआर) को विकास गर्छ । यो ल्याबमा दोस्रो त्रैमासिकमा ३.७ अर्ब अमेरिकी डलर खर्च भएको कम्पनीले बताएको हो । यो ल्याबले सन् २०२३ को दोस्रो त्रैमासिकमा बिक्रीमार्फत २७ करोड ६० लाख अमेरिकी डलर आम्दानी गरेको छ । जुन पहिलो त्रैमासिकको ३३ करोड ९० लाख भन्दा कम हो । गत वर्ष सन् २०२२ मा मेटाको रियालिटी ल्याब युनिटले १३.७ अर्ब घाटा बेहोरेको थियो र २.१६ अर्ब अमेरिकी डलर आम्दानी गरेको थियो ।

सन् २०२३ को पहिलो त्रैमासिकमा ३.९९ अर्ब अमेरिकी डलर घाटा बेहोरेको रियालिटी ल्याबले गत वर्षदेखि अहिलेसम्म कुल २१.३ अर्ब अमेरिकी डलर घाटा बेहोरेको हो । कम्पनीले ईकोसिस्टम र प्रडक्टको विकासमा खर्च गर्दै जाँदा घाटा बढ्ने बताएको भनेको छ । गत जुनमा मेटाले प्रति महिना ७.९९ अमेरिकी डलर शुल्कको भीआर सब्सक्रिप्सन सर्भिस क्वेस्ट प्लसको घोषणा गरेको थियो । यो क्वेस्ट २, क्वेस्ट प्रो र नयाँ आउने भनिएको क्वेस्ट३ का लागि पनि कम्पेटेबल छ । फेसबुकबाट मेटामा रिब्रान्डिङ हुँदा देखि नै कम्पनीले भीआर र एआरका क्षेत्रमा व्यापक विकास गरी मेटाभर्समा ठुलो फड्को मार्ने दाबी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्