बिर्तामोड, साउन १२ । पूर्वी नेपालकै उत्कृष्ट विद्यालयको रुपमा स्थापित बिर्तामोड– ६ स्थित तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलले सेवा विस्तार गरेको छ ।

राजधानी बाहिर पहिलो पटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसंग आवद्ध भएको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कूलले अन्तर्राष्ट्रिय स्तरको आधुनिक प्रणालीमा पठनपाठन गराउनेगरी सेवा विस्तार गरेको हो । विद्यालयले हिजोदेखि स्वीमिङ पुल , नयाँ स्मार्ट कक्षा कोठा , लाइब्रेरीलगायतका सुविधा थप गरेको छ । विद्यार्थीहरुलाई स्वीमिङ सिकाउनका लागि विद्यालयले ८३×४३ फुटको स्वीमिङ पुल निर्माण गरेको हो । तीनदखि पाँच फुट गहिराई भएको स्वीमिङ पुलमा शिक्षक राखेर पौडिन सिकाउने विद्यालयले जनाएको छ ।

त्यस्तै ८० जनाभन्दा बढी विद्यार्थी अट्ने क्षमता भएको लाइब्रेरी निर्माण गरिएको छ । जहाँ ३ हजारभन्दा बढी पुस्तक राखिएको विद्यालयका एकाडेमिक डाइरेक्टर डा. भिक्टोर इग्नेसियस जोन जोसेफले बताए । त्यस्तै कक्षा १ का विद्यार्थीहरुका लागि तीन वटा स्मार्ट कक्षा कोठा निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय स्तरको सेवा सुविधा भएको एउटा कक्षा कोठामा २० जनाका दरले अट्नेगरी ३ वटा कक्षा कोठा निर्माण गरिएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले बताए । हरेक कक्षा कोठामा अलग अलग थिमअनुसार डेकोरेशन गरिएको उनले बताए । विद्यार्थीहरुलाई पेन्सिल , जंगल र पानीमुनि बसेको जस्तो अनुभूति गराउनेगरी कक्षा कोठा तयार गरिएको उनले जानकारी दिए ।

नयाँ कक्षा कोठा, स्वीमिङ पुल र लाइब्रेरीको विद्यालयका संचालक दुर्गा प्रसाईले उद्घाटन गरे । उनले काठमाडौं , विराटनगरलगायतका जिल्ला बाहिरका विद्याथीहरुलाई समेत लक्षित गरी अन्तर्राष्ट्रिय स्तरको विद्यालय आफूहरुले संचालन गरेको बताए ।उनले भारतको दार्जिलिङभन्दा राम्रो शिक्षा दिने आफूहरुको योजना रहेको बताए । अभिभावकहरुको समेत उपस्थिति रहेको कार्यक्रममा कक्षा १ का शिक्षिकाहरु शक्तिकुमारी तामाङ, अनिमा गिरीले विद्यालयमा हुने गरेको पठनपाठनको शैलीबारे जानकारी दिएका थिए । उनीहरुले विद्यार्थीहरु विदाका दिन पनि घरमा बस्न नमानी विद्यालयमै जान खोज्ने गरी आफूहरुले वातावरण बनाएको बताए । कार्यक्रममा विद्यार्थीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

तक्षशीला प्रोग्रेसिभ इङ्लिस १७ वर्षअघि स्थापना भएको हो । तर, नयाँ व्यवस्थापनमा विगत ६ महिनादेखि संचालनमा रहेको छ । बेलायतको क्याम्ब्रिजसंगै तक्षशीला ब्रिटिश काउन्सिलसंग पनि आवद्ध भएको छ । आफू ब्रिटिश काउन्सिलको एम्बासेडर भएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले बताए । त्यस्तै सो विद्यालय भारत आन्ध्र प्रदेशको एस. आर. एम. युनिभर्सिटीसंग पनि आवद्ध भएको छ भने स्वीडेनको लिटल आइन्सटाइनसंग आवद्धता जनाएको तक्षशीलाले आगामी सरस्वती पूजादेखि मोन्टेश्वरी कक्षा संचालन गर्ने भएको छ । तक्षशीलाले क्लिनिक , विज्ञान प्रयोगशाला , सुविधासम्पन्न मल्टिपर्पोज हल पनि निर्माण गर्न लागेको जनाएको छ । तक्षशीलामा अध्ययनरत विद्यार्थीहरुका लागि बीएण्डसी हस्पिटलमा उपचार गराउँदा २० प्रतिशत छुट गराउने सहमति भएको एकाडेमिक डाइरेक्टर डा. जोसेफले जानकारी दिए । कक्षा ९ सम्म पठनपाठन भईरहेको तक्षशीलामा ४ सय विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्