बिर्तामोड, साउन १२ । इटहरीका विकास गुरुङ झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेशस्तरीय स्नुकर २०८० को च्याम्पियन बनेका छन् ।

उनले धरानका बालकुमार लिम्बूलाई पराजित गर्दै उपाधि चुमेका हुन् ।
बिर्तामोड स्नुकरले साउन ४ गतेदेखि आयोजना गरेको प्रतियोगितामा धरानका लिम्बूलाई बेस्ट अफ ११ मा ६–१ फ्रेममा पराजित गर्दै विकास गुरुङले नगद ५१ हजार र ट्रफी प्राप्त गरे । रनरअप बनेका लिम्बूले नगद २५ हजार र ट्रफीमा चित्त बुझाए ।

प्रतियोगिताकै बेस्ट प्लेयर फिदिमका सन्तोष राई बने । यस्तै, हाइएस्ट ब्रेक विराटनरका सरोज गौतम बने । उनको ब्रेक सर्वाधिक ९७ रह्यो । उनीहरुले जनही १०–१० हजार पाए ।
यस्तै, अन्तिम चारबाट बाहिरिएका विराटनगरका सरोज गौतम र विशाल निरौलाले जनही ५–५ हजार पाउन सफल बने । इमर्जिङ प्लेयर झापाका आकाश गजमेर बने । उनले पनि नगद ५ हजार पाए ।

आयोजक बिर्तामोड स्नुकरका सञ्चालक खेम बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, पूर्वेली युवा क्लबका संस्थापक अध्यक्ष सुरेश आले, झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेत, नेपाल उद्योग वाणिज्य संघका निवर्तमान प्रदेश अध्यक्ष टिकाराज ढकाललगायतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा कोशी प्रदेशको ८ जिल्लाका ९६ जना खेलाडी सहभागी थिए । जसमा झापाका मात्र ५२ जना खेलाडी सहभागी भएको झापा जिल्ला बास्केट बल संघका अध्यक्ष प्रकाश लिङ्देनले जानकारी दिए ।
सोही कार्यक्रममा स्नुकरका नेपाल च्याम्पियन आयुश गौतम, राष्ट्रिय खेलाडी रेगन श्रेष्ठ र अमन कार्की पनि उपस्थित थिए । श्रेष्ठ नेपालको पहिलो वरियताका खेलाडी हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्