झापा , साउन १९ । आँखा पाक्ने रोगले झापाका अधिकांश स्थानीय तहले विद्यालय बिदा दिँदै गरेको अवस्थामा बिर्तामोड नगरपालिका वडा नम्बर ३ मा सञ्चालित लिङ्कन मन्टेश्वरीले आफ्ना विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरेको छ ।

लिङ्कन मन्टेश्वरीको आयोजना तथा बिर्तामोड आँखा अस्पतालको प्राविधिक सहयोगमा शुक्रवार एकदिने निःशुल्क आँखा स्वास्थ्य शिबिर सञ्चालन गरिएको थियो । शिविरमा मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, अभिभावक, स्थानीय गरी ८० जना बढीको आँखा परीक्षणसहित औषधिसमेत वितरण गरिएको बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक सञ्जु अर्यालले जानकारी दिइन् । बिर्तामोड आँखा अस्पतालकी नेत्र सहायक अर्याल र दृष्टि बिशेषज्ञ भावना गनगाईको टोलीले आँखा परीक्षण गरेको थियो ।

आँखा पाक्ने रोगको परीक्षणसँगै विद्यार्थीहरुको आँखामा हुने अन्य रोगहरुको पहिचान गरी उपचार गराउन समन्वय गर्ने उद्धेश्यले मन्टेश्वरीले आँखा शिविर सञ्चालन गरेको लिङ्कन मन्टेश्वरीका सञ्चालक सरोज पौडेलले जानकारी दिए ।

राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बिर्तामोड आँखा अस्पतालका नेत्र अधिकृत बिनोद दाहालले आँखा पाक्ने रोग ब्यापक रुपमा फैलिरहेकाले सतर्क रहन आग्रह गरे । उनले आँखा पाकेको औषधी जुनसुकै मेडिकलमा पाइने भएपनि नेत्र बिशेषज्ञलाई देखाएर मात्र प्रयोग गर्न सुझाव दिए । कार्यक्रममा राधाकृष्ण कीर्तन मण्डलीकी अध्यक्ष पूजा काफ्ले खरेल , जिल्ला बालसञ्जाल झापाका अध्यक्ष अभिषेक मिश्र, स्थानीय खिब अधिकारीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्