झापा, साउन २२ ।झापाका तामाङ र मगर समुदायले विवादास्पद अभिव्यक्ति दिएर सामाजिक सद्भाव बिगार्न खोज्ने अधिवक्ता भगवती पाण्डे र उनलाई पक्राउ गर्न माग गर्दै गरिएको आन्दोलनमा दमन गर्ने टेकु प्रहरीमाथि कारबाहीको माग गरेका छन् ।

उनीहरुले सो मागसहितको ज्ञापनपत्र झापाका प्रमुख जिल्ला अधिकारीमार्फत उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पठाएका छन् ।प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलमार्फत उनीहरुले गृहमन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् । सोमबार जिल्ला प्रशासन कार्यालय चन्द्रगढी पुगेका तामाङ र मगर समुदायका अगुवाहरुले प्रमुख जिल्ला अधिकारी पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका सचिव मानबहादुर तामाङले वाचन गरेको ज्ञापनपत्रलाई नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समितिका अध्यक्ष जगत तामाङ र नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगरले प्रजिअ पोखरेललाई हस्तान्तरण गरेका थिए ।

ज्ञापनपत्रमा शान्तिपूर्ण आन्दोलनका क्रममा कानुनविपरीत पक्राउ गरी हिरासतमा लिएर चरम यातना दिने प्रहरी र अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।
पक्राउ पुर्जी जारी भएर पनि उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल तामाङ घेदुङ र नेपाल मगर संघको समन्वयमा गत साउन १७ गते टेकु प्रहरी परिसर काठमाडौंमा आयोजित धर्नामा प्रहरीले बल प्रयोग गरी तीन दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको थियो ।

उक्त घटनाको घोर भर्त्सना गर्दै ज्ञापनपत्रमा घाइतेहरुको उपचार गर्न र उचित क्षतिपूर्ति दिन समेत गृहमन्त्रीसमक्ष माग गरिएको छ ।

ज्ञापनपत्र बुझाएपश्चात् कोणसभाको आयोजना गरिएको थियो । कोणसभालाई नेपाल तामाङ घेदुङका केन्द्रीय सदस्य पदमबहादुर तामाङ (देवराज), प्रदेश मुख्य सचिव तिलक पाख्रिन तामाङ, प्रदेश सदस्य जसकुमार तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति अध्यक्ष जगत तामाङ,नेपाल मगर संघका जिल्ला अध्यक्ष विकास थापा मगर, नेपाल तामाङ घेदुङ जिल्ला उपाध्यक्ष जसमाया तामाङ, नेपाल तामाङ बिद्यार्थी घेदुङका संघीय सचिव हैकमराज घिसिङ र तामाङ घेदुङ भद्रपुर नगर अध्यक्ष बसन्त तामाङलगायतले सम्बोधन गरेका थिए । तामाङ र मगरहरुले आज झापासहित ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्