झापा, साउन २४ । देशका विभिन्न ठाउँमा प्रकोपको रुपमा फैलिएको आँखा पाक्ने रोग सोलुखुम्बुमा पनि देखा परेको छ ।

जिल्ला बाहिरबाट आएका व्यक्तिमा आँखा पाक्ने रोग देखिन थालेको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु सोलुखुम्बुले जनाएको छ । केन्द्रका आँखा स्वास्थ्य कार्यकर्ता दिनेश राईका अनुसार पछिल्लो केहि दिनयता दैनिक ५/७ जनासम्म आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । जसमा काठमाडौं तथा अन्यत्रबाट जिल्ला भित्रिएका व्यक्तिहरु बढी रहेको राईले बताए । यो रोग तीव्र रुपमा फैलने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ । गर्मीमा बढी फैलने आँखा पाक्ने रोगका भाइरस चिसोमा पनि बाच्न सक्ने भएकाले सावधानी अपनाउन आँखा स्वास्थ्य कार्यकर्ता राईको भनाइ छ । यो रोगका कारण सुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्नेजस्ता लक्षण देखिने चिकित्सकले बताएका छन् । सरुवा रोग भएकाले सजिलै एकअर्कामा सर्नसक्ने हुँदा विशेष सतर्कता अपनाउन राईको सुझाव छ । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने गरेको छ । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने वित्तिकै आफूखुशी औषधि किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधि प्रयोग नगर्न समेत आँखा केन्द्रले आग्रह गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्