झापा, साउन २४ । जिल्ला कारागार संखुवासभामा दुईजना कैदीबन्दीको मृत्यु भएको छ ।

कारगारमा रहेका मादी नगरपालिका-५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट ककनी गाउँपालिका-७ का २८ वर्षीय आकाश वलामीको बुधबार बिहान रहस्यमय मृत्यु भएको हो । मंगलबार राति १ बजेतिर कारागारको शौचालयबाट भाग्ने क्रममा रहेका उनीहरुलाई कारागार प्रहरीले पक्राउ गरी कारागार प्रशासनलाई बुझाएको डीएसपी विरेन्द्र गोदारले जानकारी दिए । डीएसी गोदरले भने-’बिहान दुबैजनालाई कारागारभित्रै अचेत अवस्थामा फेला परेपछि उपचारका लागि जिल्ला अस्पताल लगियो । उपचारका क्रममा बिहान ६ बजे मृत्यु भएको हो । ’अहिले शव जिल्ला अस्पतालमा शवगृहमा राखिएको छ । बलात्कार मुद्दामा कैद सजाय भुक्तान गरिरहेका तोलाङ्गी र चोरी मुद्दामा कैद सजाय भुक्तान गरिरहेका बलामी कारागारबाट भाग्ने प्रयास गरेका थिए । घटना पछि जिल्ला कारागार परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घटनाका विषयमा अहिले जिल्ला सुरक्षा समितिको बैठक जिल्ला प्रशासन कार्यालयमा बसिरहेको छ । घटनाको अनुसन्धानका लागि छानबिनका समिति गठन गरिने प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्