झापा, साउन २४ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका नेता एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले वर्तमान सरकारले भ्रष्टाचारविरुद्ध युद्ध सुरु गरेको दावी गरेका छन् । सरकारले अहिले चलाएको भ्रष्टाचार विरुद्धको कदम नरोकिने उनको भनाई छ ।


बुधबार २९औँ विश्व आदिवासी दिवसको कार्यक्रममा सहभागी हुन कमल गाउँपालिका आएका मन्त्री किरातीले स्थानीय नेता कार्यकर्ताहरुसँग संक्षिप्त भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो पार्टी र अहिलेको सरकारले जनभावाना अनुसारको काम गरिरहेको दाबी गरे । ‘हिजो हामीले परिवर्तनका लागि लड्यौँ अब भ्रष्टाचारविरुद्ध लड्छौँ,’ उनले भने । यो लडाइमा अवरोध गर्ने तत्वहरु सक्रिय भएपनि नडगमगाइ अघि बढ्ने उनको भनाइ छ। ‘हामी सुशासनको पक्षमा र भ्रष्टाचार विरुद्धको युद्धमा होमिसकेका छौं,’ मन्त्री किरातीले भने ।
यसैबीच आदिवासी दिवसको अवसरमा कमल गाउँपालिकाकै आदिवासी रंगशालामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किरातीले हरेक अग्रगामी आन्दोलनमा आदिवासी जनजातिहरु अग्रणी भूमिकामा रहेको बताए । वि.सं.२००७ सालको आन्दोलनमा ब्रिटिस आर्मीबाट अवकाश पाएका आदिवासीहरु सहभागी भएको स्मरण गर्दै उनले हरेक आन्दोलनहरुमा उच्च योगदान रहेको उल्लेख गरे ।

पुर्खाले छाडेको ७ वटा मानवनिर्मित सम्पदा बाहेक नेपालमा अन्य सम्पदाहरु अहिलेसम्म बन्न नसकेको भन्दै यसमा ध्यान दिनुपर्ने बेला आएको बताए । पहिचान र संस्कृतिलाई जोगाउनका लागि ढिला गर्नु नहुने उनको भनाइ छ । ‘हामीले पूर्वको पहाडदेखि पश्चिमका पहाडहरुसम्म पहिचानमा आधारित सम्पदा निर्माण गर्न सक्छौँ,’ उनले भने । आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अन्य वक्ताहरुले पनि आदिवासी जनजातिको अधिकारका बारेमा बोलेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्