एजेन्सी । बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ ।

बंगलादेशको राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि सैनिकहरु परिचालन गरिएको हो । चट्टोग्रामको कोक्स बजार जिल्लामा सोमवार यता भएको वर्षापछिका विपद्का कारण ६ जनाको ज्यान गइसकेको जनाइएको छ । उक्त क्षेत्र अहिले पहाडको भिरालोमा बसोवास गरिरहेका करिव १० लाख रोहिंग्या शरणार्थीहरूको घर हो । बंगलादेशका शरणार्थी, राहत र स्वदेश फिर्ता कमिश्नर (आरआरआरसी) मोहम्मद मिजानुर रहमानले भने , ‘सोमवारदेखिको भारी वर्षाका कारण दुईवटा छुट्टाछुट्टै पहिरोमा परी चार रोहिंग्याको मृत्यु भएको छ, र दुईजना घाइते भएका छन् ।’ कक्सबजार जिल्लाको दुर्गम पहाडी क्षेत्रमा पहिरोले घरको पर्खाल भत्किँदा दुई बालबालिकाको पनि मृत्यु भएको बताइएको छ ।

बाढी प्रभावित क्षेत्रमा आपतकालीन राहत र चिकित्सा सहायतासहितको उद्धार कार्य जारी रहेको रक्षा मन्त्रालयअन्तर्गतको अन्तरसेवा जनसम्पर्कले जनाएको छ । वर्षाका कारण बढी आश्रयस्थलहरू पूणर् वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने बंगलादेशको बन्दरगाह शहर चट्टोग्रामलाई पनि क्षति पुर्‍याएको छ । तराईका क्षेत्रहरू डुबानमा परेका छन् र सडक यातायात अवरुद्ध भएको छ । देशको प्रमुख बन्दरगाह शहर चट्टोग्रामका केही भागमा सडक, लेन र बाइलेन घुँडा मुनिसम्म पानी जम्मा भएकाले चट्टोग्रामका तल्लो क्षेत्रका बासिन्दाले जलमग्नताको सामना गरिरहेका छन्, जसले यात्रुहरूलाई ठूलो सास्ती खेप्नु परेको छ । बंगलादेशको पहाडी क्षेत्रहरूमा प्रायः जुनदेखि सेप्टेम्बरसम्म चल्ने मनसुनको समयमा पहिरो जाने गर्छ । किनभने सो क्षेत्रमा जमिनमा बाली उब्जाउन र नयाँ घरहरू बनाउनको लागि ठूलो मात्रामा वन विनाश भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्