झापा , साउन २६ । चितवनमा डेङ्गुको सङ्क्रमणबाट एकजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१२ का एक पुरुष रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीका अनुसार ४१ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो। उनी बिरामी भई यही साउन २३ गते अस्पताल भर्ना भएका थिए। उनको उपचारका क्रममा मृत्यु भएको हो । चालु आर्थिक वर्ष २०८०/८१ मा डेङ्गुको सङ्क्रमणका कारण मृत्यु भएको यो पहिलो घटना हो । जिल्लामा उपचारका लागि आएकामध्ये हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको सूचना अधिकारी केसीले बताए । पाँच सय ३२ जनाको परीक्षणका क्रममा उनीहरूमा सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ठेगना नखुलेका ६ जना र जिल्ला बाहिरका १७ जना रहेको उनले जानकारी दिए । चितवनका ३० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । गत आर्थिक वर्षमा डेङ्गुका कारण चितवनमा छजनाको मृत्यु भएको थियो। जसमध्ये चारजना चितवनका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्