झापा , साउन २६ । नेपाल प्रहरीले नक्कली नोट ५२ लाख ५७ रुपैयाँसहित ९ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विभिन्न समयमा फरकफरक स्थानबाट पक्राउ परेका ९ जनालाई सार्वजनिक गरेको हो । प्रहरी प्रभाग नागढुंगाको टोलीले नागढुंगा चेकप्वाइन्टबाट पर्यटकबसमा काठमाडौँ भित्रिँदै गरेको एक हजार दरको तीन हजार ५७३ थान नक्कली नोट बरामद गरेको हो । प्रभागको टोलीले लुम्बिनीबाट काठमाडौं आउँदै गरेको लु१प ५ नम्बरको पर्यटक बसबाट उक्त मात्रामा नोट बरामद गरेको हो । उक्त बसमा नक्कली नोट भएको कार्टुन अचारको भनी पठाइएको बसका चालक र सहचालकको बयानपछि प्राप्त गर्ने व्यक्तिको खोजीमा जाँदा गोंगबु बसपार्क र भक्तपुरको चाँगुुनारायण ४ बुढाथोकी गाउँबाट एक हजार दरका थप एक हजार ७०२ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।

कुल ५२ लाख ७५ हजार रुपैयाँ बराबरको नक्कली नोटसँगै प्रहरीले ९ जनालाई पक्राउ गरेको हो । सोही क्रममा पक्राउ परेकामध्ये सिन्धुपाल्चोकको बलेफी नगरपालिका-७ घर भई चाँगुमा बस्दै आएका ४० वर्षीय अर्जुन सुवेदीको डेरामा छापा मारी नक्कली नोट बरामद गरिएको हो । सुवेदीसँगै सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका-६ घर भई काठमाडौंको मूलपानीमा बस्दै आएका २१ वर्षीय मिलन भण्डारी, ३२ वर्षीय शिव भण्डारी र २३ वर्षीय श्रीकृष्ण भण्डारी र सुनकोसी गाउँपालिका घर भई काठमाडौंको पेप्सीकोलामा बस्दै आएका २६ वर्षीय सुशील कार्की पक्राउ परेका छन् । नवलपरासीको सरावल गाउँपालिका-१ घर भई काठमाडौंमा बस्दै आएकी पार्वती नेपाली, गुल्मीको बडागाउँ गाउँपालिका-२ घर भई काठमाडौंको सामाखुसीमा बस्दै आएका २७ वर्षीय सागर आचार्य, झापा घर भई समाखुसीमै बस्दै आएका २४ वर्षीय युवराज राई र अछाम घर भई काठमाडौंको मातातीर्थमा बस्दै आएका २३ वर्षीय अर्जुन बुढालाई समेत प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्