भद्रपुर, साउन २७ । वर्ष २०२३÷०२४ का लागि चयन भएको इनरव्हील क्लब अफ भद्रपुरको नयाँ कार्यसमितिले शुक्रबारदेखि पदभार ग्रहण गरेको छ ।

शुक्रबार साँझ भद्रपुरमा आयोजित एक समारोहका बीच वर्ष २०२१÷०२३ की अध्यक्ष कुसुम अधिकारी पराजुलीले वर्ष ०२३÷०२४ की अध्यक्ष निर्मला निरौला खड्कालाई पदभार हस्तान्तरण गरेकी हुन् ।
समारोहका प्रमुख अतिथि इनरव्हीलकी डिस्ट्रिक्ट चेयरम्यान टुना थापाले पदस्थापन समारोहको उद्घाटनसँगै वर्ष ०२३÷०२४ का अध्यक्ष खड्कालाई शपथ गराएकी थिइन् भने अध्यक्ष खड्काले आफ्नो कार्यसमितिका पदाधिकारी–सदस्यहरूको नाम घोषणासहित शपथ गराएकी थिइन् । अध्यक्ष खड्काले भ्वाइस प्रेसिडेन्ट प्रमिला ढकाल ओझा, चार्टर प्रेसिडेन्ट कुसुम अधिकारी पराजुली, सेक्रेटरी अमृता हुमागाईँ पराजुली, कोषाध्यक्ष लीना राई श्रेष्ठ, मिडिया एडिटर दिहेन शेर्पा, अन्तर्राष्ट्रिय सेवा आयोजकमा रिता सरावगी तथा कार्यकारी सदस्यहरूमा शारदा सुवेदी, आशा उप्रेती पोखरेल र नयाँ सदस्यमा अनिता मानन्धरलाई चयन गरेकी छिन् ।

नवनिर्वाचित भ्वाइस प्रेसिडेन्ट प्रमिला ढकाल ओझाले सञ्चालन गरेको समारोहमा वर्ष ०२१÷०२३ का अध्यक्ष पराजुलीले आफ्नो दुई कार्यकालमा भएका सामाजिक गतिविधिका बारेमा जानकारी गराउँदै बिदाइ मन्तव्य राखेकी थिइन् भने नवनिर्वाचित अध्यक्ष खड्काले आफ्नो कार्यकालमा गरिने सामाजिक गतिविधिका बारे संक्षिप्तमा जानकारी गराउँदै प्रतिबद्धता मन्तव्य राखेकी थिइन् । सोही अवसरमा इनरव्हीलकी डा. गीता श्रेष्ठलाई सम्मान गरिएको थियो । मेची बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक श्रेष्ठले पिएचडी गरेकी अवसरमा उनलाई सम्मानपत्रले सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि डिस्ट्रिक्ट चेयरम्यान थापा, विशेष अतिथि भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, नगर उपप्रमुख राधा कार्की, रोटरी क्लब भद्रपुरका अध्यक्ष विनोद चापागाईँलगायतले शुभकामना मन्तव्य राखेका थिए । सेक्रेटरी अमृता हुमागाईँ पराजुलीले प्रार्थना गरेको कार्यक्रममा स्वागत मन्तव्य डा. गीता श्रेष्ठले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्