झापा , साउन २८ । मेचीनगर १३ चारआलीस्थित पाउँ पाथीभरा मन्दिरको प्रवेशद्वारमा आज बिहान अचानक रुख लड्दा एकजना युवती घाइते भएकी छन् ।

बिहान ८ः३५ बजेको समयमा पाउँ पाथीभरा मन्दिर छिर्ने भित्री सडकखण्डमा अबिरल वर्षाका कारण सखुवा जातको रुख लड्दा पाउँ पाथीभरा मन्दिर बाहिर पुजा सामग्री बिक्री गर्ने मेचीनगर १२ कालिझोडा बस्ने अन्दाजी ३२ वर्षिया सृजना खरेल घाइते भएकी हुन् । उक्त रुखको हाँगाले लागेर घाईते भई उनलाई उपचारको लागि मनकामना अस्पताल चारआली लगिएको छ । घाईतेको बाहिरी चोट नरहेको ,ढाड, बायाँ कुमको भित्री भागमा चोट लागेको र अवस्था बोल्न सक्ने सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी चौकी चारआलीबाट प्रहरी टोली खटिगई रुख हटाउन पहल भईरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी खगेन्द्र रिजालले बताए । बिहान झरीको कारणले मानिसको चहलपहल कम भएकोले ठूलो क्षति हुन नपाएको र पुजा सामग्री बेच्ने आफ्नी नातिनी सृजनालाई सामान्य चोट लागेको र हाल अस्पतालमा रहेको दुर्गा मावि गरामनीका प्रधानाध्यापक लक्ष्मण शिवाकोटीले बताए । रुख लडेर आफ्नो मोटरसाइकल झन्डै क्षति भएको उनले जानकारी दिए । जंगलभित्र निर्माण गरिएको पाउँ पाथीभरा मन्दिरमा रुख लड्ने खतरा निकै रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्