झापा, साउन २८ । २९ औं अन्तर्राष्ट्रिय आदिवासी दिवसका अवसरमा अर्जुनधारा ५ स्थित देवभूमि विद्यापीठ इङ्लिस बोर्डिङ स्कूलले आदिवासी जनजातिसम्बन्धी आइतवार एक कार्यक्रम सम्पन्न गरेको छ ।

आफ्ना विद्यालयमा अध्ययनरत आदिवासी समुदायकै विद्यार्थीहरुलाई आदिवासीका बारेमा थाहा नभएकोले अन्तर्राष्ट्रिय आदिवासी दिवसका सन्दर्भमा कार्यक्रम गरिएको विद्यालयका अध्यक्ष सुमन शर्मा जमरकट्टेलले बताए । उनले आदिवासीका अगुवाहरुलाई बोलाएर आदिवासी जनजातिका बारेमा जानकारी दिन लगाएको बताए ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ झापाका पूर्व अध्यक्ष प्रेम घिसिङले आदिवासी जनजातिका बारेमा जानकारी दिँदै आदिवासीहरुसंग भएका ज्ञान र सीपलाई जगेर्ना गर्न आबश्यक भएको जोड दिए । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा मेचे सिवियारी आफातका केन्द्रीय महासचिव वीरेन मेचेले आदिवासी मेचे जातिका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा विद्यार्थीहरुले तामाङ सेलो, साकेला, धान नाच ,थारु नृत्य , मेचे नृत्य , नेवारी गीत प्रस्तुत गरेका थिए भने अंकित खनाल र स्मृति निरौलाले आदिवासीका बारेमा आफ्ना भनाई राखेका थिए । विद्यालयका अध्यक्ष जमरकट्टेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत शिक्षक सन्तोष पौडेलले गरेका थिए । कार्यक्रमको संचालन विद्यार्थीहरु विनिता आचार्य , प्रज्वल संग्रौला , विराज आचार्य , अनुज रसाइली , रिवन खतिवडा र साइमन कट्टेलले गरेका थिए । २०६४ सालमा स्थापना भएको देवभूमिमा ५६५ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्