झापा, साउन २८ । झापाको अर्जुनधारा नगरपालिकामा पर्ने बिरिङ खोलाको पुल वर्षाका कारण भासिएको छ ।

आज बिहानैदेखि अविरल वर्षाका कारण बिरिङ खोलामा आएको बाढीका कारण पुल भासिएको हो। पुल भासिएपछि बिर्तामोड हुँदै शनिश्चरे–खुदुनाबारी र इलामको दक्षिणी पालिका माई जोड्ने सडक अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण आज साँझ पुल भासिएको हो। पुल भासिएपछि सवारी आवतजावतमा रोक लगाइएको छ। पुल भासिनुअघि दुवैतर्फ आवागमन ठप्प पारिएको थियो । पुल भासिँदा पूर्वपट्टिको जग नै धरापमा परेको छ भने पुलको माथिल्लो भाग खोलाको सतहमा पुगेको छ । समयमै मर्मतसम्भार नहुँदा पुल भत्किएको स्थानीय रुपेश खतिवडा बताउँछन्। पुल जीर्ण हुँदा पनि सम्बन्धित निकायले वास्ता नगरेको उनको भनाइ छ।

पुल मर्मतका लागि बजेट विनियोजन गरिएको भए पनि मर्मत सम्भारमा ढिलाइ भएको नगरपालिकाका सूचना अधिकारी हिमराज सेढाईँले स्वीकारे। ‘आर्थिक वर्षको अन्तिम समयमा पालिकाले जीर्ण अवस्थामा रहेको केही पुलहरूको मर्मतका लागि एकमुष्ट २० लाख रुपैयाँ छुट्याएको थियो। कामको चापले गर्दा असार मसान्तसम्म पुल मर्मत गर्न सकेनौं’, सेढाईंले भने। बिरिङ खोलामा पानीको बहावलाई परिवर्तन गरी जाली भर्ने काम भए पनि तीव्र कटानका कारण पुल भासिएको हो । बाढीका कारण पुल भासिए पनि दुई वैकल्पिक मार्ग भने रहेका छन् । २०६५ सालमा भारत सरकारको दुई करोड सहयोगमा पुल निर्माण गरिएको थियो। पुल निर्माणसँगै इलाम आवतजावत गर्ने वैकल्पिक बाटोको रुपमा सहज बनेको थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्