झापा, साउन ३० । गत मंसिर ४ को निर्वाचनमा ७७ हजारभन्दा बढी मत ल्याएर तेस्रो बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा अझ आफ्नो प्रभाव विस्तार गर्ने भएको छ । त्यसका लागि सभापति रवि लामिछाने नेतृत्वको टीम झापामा दुई दिन खटिने भएको छ ।

नेपाली कांग्रेस ,नेकपा एमाले , राष्ट्रिय प्रजातन्त्र पार्टी , नेकपा माओवादी केन्द्रका जिल्लास्तरीय सक्रिय नेता कार्यकर्ताहरुलाई पार्टीमा प्रवेश गराइसकेको रास्वपाले त्यस क्रमलाई अझ तीब्रता दिने भएको हो । जसको लागि पार्टी सभापति लामिछाने नेतृत्वको टीम भदौ १ र २ गते झापामा सक्रिय भएर खटिने भएको छ ।जिल्लाका पाँच वटै निर्वाचन क्षेत्र र प्रायः सबै प्रदेश क्षेत्रमा रास्वपाले दुई दिने कार्यक्रम तय गरेको छ । सभापति लामिछानेको नेतृत्वमा महामन्त्री डा. मुकुल ढकाल , प्रमुख सचेतक सन्तोष परियार , सचेतक तथा संघीय सांसद निशा डाँगी ,केन्द्रीय सदस्य तथा सांसद अशोक चौधरी , केन्द्रीय सदस्य रमेश प्रसाईलगायतका केन्द्रीय नेताहरु जिल्लाको कुनाकुनामा जाने कार्यक्रम रहेको जिल्ला सभापति उमेश खरेलले बताए । उनले दुई दिनमा करिव एक दर्जन कार्यक्रममा सहभागी हुने तय भएको जानकारी दिए ।

‘सभापति दुई दिनसम्म बिहानदेखि बेलुकासम्म नै खटिनु हुनेछ ’उनले भने,‘माईपूर्व र माईपश्चिम गरी दुईवटा खुल्ला सभासंगै कचनकवलको बनियानी , झापा बजार , बाहुण्डाँगी,बुद्धशान्ति, हल्दिवारीको गोलधाप, शिवगञ्जस्ता ग्रामीण ठाउँमा पनि जाने कार्यक्रम रहेको छ । ’ साउन ३२ गते इलामको सूर्योदय नगरपालिकाको खुल्ला सभालाई सम्बोधन गरिसकेपछि लामिछाने झापा आउने छन् । त्यसको भोलिपल्ट साउन १ गते बिहान बुद्धशान्तिको वडा नं ४ मा रहेको सुकुम्बासी बस्ती जाने , त्यसपछि बाहुण्डाँगीको हात्ती प्रभावित क्षेत्र अवलोकन गर्ने कार्यक्रम छ । सोही दिन माईपूर्वको खुल्ला सभा बिर्तामोडको सिटी सेन्टर र माईपश्चिमको खुल्ला सभा दमकको गोर्खा डिपार्टमेन्टको प्राङ्गणमा राखिएको छ ।सोही दिन झापाका उद्योगी , व्यवसायी , बौद्धिक तथा शैक्षिक व्यक्तिहरुसंग भेटघाट गर्ने कार्यक्रम रहेको छ । भोलिपल्ट साउन २ गते जिल्लाका विभिन्न ठाउँहरुमा क्षेत्रीय भेला राखिएको छ । १ नम्बर क्षेत्रको क्षेत्रीय भेला मेचीनगरको इटाभट्टा,३ नं क्षेत्रको बनियानी ,३ नं कै गोलधाप ,४ नं को झापा गाउँपालिकाको झापा बजार , ४ नं. कै शिवगञ्ज बजार , ५ नं को गौरादहमा क्षेत्रीय भेला राखिएको छ । सोही दिन लामिछानेले सुरुङ्गाका सन्थाल परिवारसंग भेट्ने कार्यक्रम पनि रहेको जिल्ला सभापति खरेलले बताए ।

रास्वपाले झापाको १४ वटा पालिकामा संगठन विस्तार गरिसकेको छ । बाँकी रहेको गौरीगञ्ज गाउँपालिकामा भोलि बुधवार समिति गठन हुन लागेको खरेलले जानकारी दिए ।झापा जिल्लामा करिव ५० हजारलाई सदस्य बनाउनेगरी अभियान संचालन भइरहेको उनले बताए । अनलाइनबाट सदस्य बनाउँदा केही अप्ठ्यारो भएको बताउँदै उनले अब केही दिनमा घण्टीमैत्री सदस्यता खुल्ला गरिने जानकारी दिए ।

अहिले झापामा रास्वपाको सदस्य करिव ४ हजार छन् । एक हजार रुपैयाँ तिरेर पाँच वर्षसम्मको नवीकरणसहित सदस्यता अनलाइनबाट लिने प्रक्रिया सर्वसाधारणका लागि झन्झटिलो भएकाले पैसा नहुनेका लागि दुईजना पार्टी सदस्यले सिफारिस गरेमा निःशुल्क सदस्यता दिने प्रावधानसमेत रहेको उनले जानकारी दिए । घण्टीमैत्री सदस्यता वितरण कार्यक्रममा एउटा परिवारबाट १०जनासम्मले सदस्य बन्न पाउने र सोको लागि अनलाइन फारम भर्न नपर्ने उनको भनाई छ । गत जेठको दोस्रो साता कांग्रेस ,एमाले ,राप्रपालगायतका पार्टीका ६० जना नेताकार्यकर्ता रास्वपामा प्रवेश गरेका थिए । ‘कांग्रेस र एमालेका अत्यधिक नेता कार्यकर्ता हाम्रो पार्टीमा आउन खोजिरहनु भएको छ ’ जिल्ला सभापति खरेलले भने,‘ भदौ १ र २ गतेको कार्यक्रममा उहाँहरुलाई सार्वजनिक गर्ने छौं ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्