झापा, साउन ३१ । कोशीका मुख्यमन्त्री उद्धव थापाले बुधबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

उनले प्रदेशसभाका ज्येष्ठ सदस्य कांग्रेसका गयानन्द मण्डल गनगाईलाई उद्योग, कृषि तथा सहकारी राज्यमन्त्री नियुक्त गरेका हुन् । मण्डललाई बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गराउने तयारी गरिएको मुख्यमन्त्री थापाको सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतको आदेशले साउन १६ गते मुख्यमन्त्री नियुक्त भएपछि थापाले माओवादीका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजना, नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जवेगुलाई भौतिक पूर्वाधार विकास र कांग्रेसका प्रदीपकुमार सुनुवारलाई खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री नियुक्त गरेर साउन १७ गते शपथ ग्रहण गरेका थिए ।

मुख्यमन्त्री थापाले त्यसपछि साउन २६ गते पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी जनता समाजवादी पार्टीकी एक्ली प्रदेश सांसद निर्मला लिम्बूलाई स्वास्थ्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्री थापाले अझै आन्तरिक मामिला तथा कानुन, पर्यटन, वन तथा वातावरण, सामाजिक विकास र उद्योग, कृषि तथा सहकारी मन्त्रालय आफैंसँग राखेका छन् । उनले विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्