भद्रपुर, साउन ३२ । भद्रपुर १० स्थित वीपी चौकमा झण्डै दुई वर्षयता सञ्चालनमा रहेको उत्तरदायित्व ऋण तथा बचत सहकारी संस्था बिनाइजाजत निर्वाध सञ्चालनमा रहेको पाइएको छ ।

साइन बोर्डमा स्थापना २०७० लेखेर टाँगिएको सहकारीको मुख्य कार्यालय कहाँ छ अनि सहकारीको जिम्मेवार व्यक्ति को हो भन्ने सूचनासमेत दिन नसक्ने कर्मचारीको भरमा सयौं स्थानीयबाट रकम संकलन गर्दै आएको सहकारीले बचत फिर्ता गर्न नसकेपछि भद्रपुर १० नम्बर वडा कार्यालयले खोजी गर्दा इजाजतको प्रमाणपत्र नपाइएको हो ।

स्थानीय सरकारसंग कुनै अनुमति लिएको नपाइएपछि भद्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख नेत्र पोखरेल तथा भद्रपुर १० का वडा सचिव मनकुमार डाँगीको टोलीले कार्यालयमै गएर कागजपत्र माग्दा त्यहाँ रहेकी संकलक कर्मचारीले केही पनि देखाउन नसकेको वडा सचिव डाँगीको भनाइ छ । उनका अनुसार शुक्रवार १० बजेभित्र सम्पूर्ण कागजपत्र लिएर वडा कार्यालयमा आउन संस्थाका व्यवस्थापकलाई जानकारी गराइएको छ ।

पछिल्लो दुई महिनायता बचतकर्ताले बचत रकम माग्न थालेपछि पुराना संकलक कर्मचारी काम छोडेर अन्यत्रै गएका छन् भने नयाँ कर्मचारीका रूपमा एक जना संकलक देखिएपनि अन्य जिम्मेवार व्यक्ति नभेटिँदा अधिकांश बचतकर्ताको रकम फिर्ता हुन नसकेको पीडितहरूको गुनासो छ ।

डेढ वर्षयता टोलटोलमा रहेका बेरोजगार तथा आर्थिक रूपमा कमजोर रहेका व्यक्तिलाई राम्रो तलव दिने बहाना बनाएर आफन्त तथा छरछिमेकीलाई सदस्य बनाउन लगाई रकम संकलन गर्दै आएको सहकारीमा तीन महिनायता व्यवस्थापक समेत नरहेको स्थानीयको भनाइ छ । तलब नपाएपछि पुराना संकलक कर्मचारी काम छोडेर अन्यत्र गइसकेकाले उनीहरूको विश्वासमा रकम जम्मा गर्ने बचतकर्ताको बचत रकम फिर्ता हुन नसकेको पीडितको गुनासो छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्